‘राजनीतिक स्थायित्व’को नारा वाम गठबन्धनलाई यसपालि राम्रै फापेको भन्नुपर्छ । प्रत्यक्षतर्फ दुई-तिहाई र समानुपातिकतर्फ पनि अग्रता ऐतिहासिक छ । एमालेलाई इतिहासमै यो स्तरको सफलता हासिल भएको थिएन । ओलीले आफ्नो नेतृत्वमा यो गरेर देखाए । त्यसैले ओली एमालेका सर्वाधिक सफल नेता हुन् । माओवादी केन्द्रले पनि ‘इज्जत’ जोगाएको छ ।

कांग्रेस इतिहासमै सर्वाधिक कमजोर यसपालि भयो । जनताले स्थायित्व खोजेका रहेछन् । अधिनायकवाद आउँछ भनेर बाम गठबन्धनमाथिको उसको आरोप त्यसैले जनअनुमोदित भएन । यद्दपि यो ‘ओली राष्ट्रवाद’को प्रभाव पनि हो । तर, तराई-मधेसमा भने ‘ओली राष्ट्रवाद’ नबिकेको प्रष्ट देखियो ।

उता ‘पहिचान’को मुद्दा पहाड र पहाडियामा बिक्न सकेन । केही पुराना समूहले कानुनी मान्यता र राजनीतिक औचित्य दुबै गुमाए । नयाँ वा बैकल्पिक शक्ति भनिएकालाई जनताले सुन्नसम्म थालेको महसुस गरियो ।

यसरी यो चुनावले मूलतः चार राजनीतिक प्रवृत्ति -साम्यवादी, पुँजीवादी, पहिचानवादी र विकल्पवादी ) लाई स्थान दिएको छ । चुनावी जनमत साम्यवादीका पक्षमा भएकाले आगामी पाँच बर्ष साम्यवादी सरकार हेर्न पाइने भएको छ । चुनावी अंकगणितका हिसाबले यो सरकार इतिहासकै शक्तिशाली साम्यवादी सरकार हुने छ ।

चुनावले ठूला दलहरुको वास्तविक हैसियत पनि प्रष्ट्याएको छ । कांग्रेस, साम्यवादी पार्टी विभाजनको फाइदामा मात्र ठूलो दल हुँदो रहेछ । साम्यवादी मिल्नेवित्तिकै कांग्रेशको हैसियत घट्दो रहेछ । यसको अर्थ कांग्रेसको जनमत पुरै घटेको र साम्यवादी जनमत ह्वात्तै बढेको भने होइन ।

समानुपातिक मत हेर्दा थोरै तलमाथि मात्र भएको छ । अर्थात कांग्रेस अहिले पनि दोस्रो दल हो । तर, साम्यवादी मिल्दा भने उसको हैसियत पुरै खुम्चिँदो रहेछ ।

प्रचण्ड त यसअघि पनि ठूलो दलको अध्यक्ष भइसकेका छन् । तर, उनले आफ्नो हैसियत बचाउन सकेनन् । ओलीलाई यसपालि यो मौका मिलेको छ । यो गठबन्धनकै देन हो । गठबन्धनलाई इमान्दारीपूर्वक निभाउनु र सफल बनाउनु दुवै नेताको सवलता हो । सरकार सञ्चालनमा पनि यसरी नै मिल्दा मात्र उनीहरुलाई शक्तिशाली सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुन्छ । नत्र एमाले वा माओवादी एक्लैको सरकार बन्ने अवस्था छैन । जनमतले पनि एमाले माओवादी पार्टी एकता गर्दा नै भलो हुन्छ भन्ने देखायो ।

जे होस् नेपालमा यसपालि पनि चमत्कार भयो । विश्वमै साम्यवादीहरु हराइसक्दा पनि नेपालमा शक्तिशाली जनमत अझै उनीहरुकै पक्षमा देखियो । यद्दपि गुण चरित्रको प्रश्न छँदैछ । तर, अबका दिन साम्यवादीका अग्निपरीक्षाका दिन हुन् ।

हिजो कांग्रेसलाई वा ‘संक्रमणकाल’लाई दोष दिएर ‘पानी माथिको ओभानो’ हुन सजिलो थियो । तर, अब सरकार चलाएर जनताको चित्त बुझाउनुपर्ने अभिभारा आइलागेको छ । त्यसैले चुनावी परिणाम साम्यवादीका लागि अवसर र चुनौति दुवै हो । गर्न सक्दा ओली, प्रचण्ड दुवै हाईहाई हुन्छन् । नसक्दा ओलीको पनि प्रचण्डकै हविगत हुन्छ ।

शुद्धीकरण जरुरी

माओवादीका लागि ओली विदेशी दलाल, संशोधनवादी र प्रतिकृयावादी थिए । एमालेका लागि प्रचण्ड आतंककारी र जडसुत्रवादी थिए । आपसमा यत्रो दुरी भएका पार्टीपीच एकाएक मिलन कसरी सम्भव हुन्छ ?

चुनाव पूर्वको गठबन्धनमा त ओली प्रचण्ड सफलै देखिए । चुनाव पश्चातको सहकार्यमा अनुकुलता र चुनौति दुवै छन् । अनुकुल पक्ष के हो भने गठबन्धनको साझा घोषणा पत्र छ । गठबन्धन सरकारले यहि घोषणापत्रमा आधारित भएर अघि बढ्न सक्दा आपसी बिवाद कम होला । त्यस्तै संसदमा सुविधाजनक बहुमत हुनु पनि गठबन्धनको अनुकुलता हो ।

चुनौति भने निकै जटिल छन् । जनता सरकारबाट स्थिरता, सुशासन, विकास र सामाजिक न्याय पाइएला भनेर आशामुखी नजरले हेरिरहेका छन् । मधेस तथा सीमान्तकृत समुदायको मुद्दा अब संगठित र संस्थागत ढंगले आउने छ । कार्यकारी राष्ट्रपतिको नारा झन् मुखर हुनेछ । समृद्धि भनेको के हो ? त्यो कसरी प्राप्त हुन्छ ? यस्ता प्रश्नको व्यवहारिक उत्तर दिनुपर्ने छ । बेरोजगारी, महंगी, भ्रष्टाचार जस्ता विसंगतिका बिरुद्ध अनेकौं प्रकारले प्रतिरोध हुने वाला छ । यी आगामी सरकारका चुनौति हुन् ।

गठबन्धन सरकारले तत्काल जनमुखी सुधारका साना साना कदमबाट आफ्नो काम शुरु गर्न सक्छ । जस्तो कि गाउँ शहरमा बनेका सडक बनाउने बित्तिकै नभत्किउन् । कार्यालयमा घुस नखुवाई काम लिन पाइयोस् । कार्यालय पारदर्शी र जवाफदेही बनुन् । सरकारी अस्पतालमा भरपर्दो सेवा उपलब्ध होस् ।

एमाले माओवादी एकताको खास कारणचाहिँ आफ्ना आदर्श र लक्षप्रति दुवै नेतृत्वमा आएको विरक्तिको परिणाम हो । यसमा बिरासत जोगाएर ब्याज खाने मोह पनि छ

पढ्न चाहने युवाले रोजेको विषय सुलभ ढंगले पढ्न पाओस् । किसानले उत्पादनको उचित मूल्य पाउन । उद्यम गर्न चाहने युवाले सहयोग पाओस् । गुण्डागर्दी र अपराधीकरण नियन्त्रण होस् । बजार अनुगमन प्रणाली बलियो होस् । विकास आयोजनाहरु छिटो छरितो ढंगले सम्पन्न होउन् । सामाजिक न्यायको कार्यक्रम प्रभावकारी बनुन् । तत्काल यति भयो भने पनि ओली प्रचण्ड हाईहाई हुन्छन् ।

तर, पार्टी र नेताको चरित्र स्वार्थी हुने अनि उनीहरुको सरकार चाहीँ जनमुखी हुने कुरा सम्भव छैन । जनमुखी सरकार सञ्चालनको पहिलो शर्त पार्टी जीवनको शुद्धीकरण हो । अहिलेसम्मको कुरा गर्ने हो भने मुलुकका सारा विकृतिका स्रोत साम्यवादी वा लोकतन्त्रवादी नामधारी दलहरु नै हुन् ।

भ्रष्ट कर्मचारी, ठेकेदार र तस्करसँगको साँठगाँठबाट हुने आम्दानीबाट अधिकांश पार्टी र नेताको जीवन चलेको छ । सामुदायिक शिक्षा र स्वास्थ्यलाई तहस-नहस पारेको अरुले होइन, राजनीतिक नेतृत्वले नै हो । संस्थान तथा स्वदेशी उद्योग सखाप बनाउने काममा नेताहरुकै हात छ । हुँदाहुँदा सांसदको टिकटको पनि किनबेच भएको छ ।

पार्टीहरु आफैंमा गिरोह जस्ता भएका छन् । मुट्ठीभर गिरोहले प्राय सबै पार्टीमा अन्तरपार्टी लोकतन्त्र कमजोर बनाएको छ । यस्ता कर्ममा हिजो कांग्रेस र एमालेका नेता थिए भने अहिले माओवादी नेता पनि थपिएका छन् । यस्तो अवस्थामा बाम गठबन्धनको सरकारबाट सुशासन र जनमुखी कामको आशा गर्नु लगभग बेकार छ । त्यस्तै कांग्रेसबाट रचनात्मक प्रतिपक्षको आशा गर्नु पनि उत्तिकै बेकार छ ।

कामना गरौं, यस्तो नहोस् । बाम गठबन्धनले अवस्थामा सुधार गरोस । प्रतिपक्षीले पनि रचनात्मक प्रतिपक्षको धर्म निर्वाह गरोस । देशमा सुशासन, समन्याय र समृद्धि यही सरकारको नेतृत्वमा हासिल होस् ।

मोह र विरक्तिको खेल

एमाले माओवादी पार्टी एकताका सकारात्मक र नकारात्मक दुवै आयाम छन् । सकारात्मक आयाम यो हो कि एमाले एक्लैले जतिगरे पनि आफूलाई कांग्रेसभन्दा बलियो बनाउन सकेन । तर, माओवादीसँग मिल्दा उसलाई दोश्रो श्रेणीको दल हुनुको हीनतावोधको उपचार हुने रहेछ । माओवादी पनि त्यत्रो विश्व क्रान्तिको नेतृत्व गर्छु भनेको पार्टी, अन्ततः तेस्रो हैसियतमा खुम्चनु पर्‍यो । एमालेसँग मिल्दा उसलाई पनि श्रेष्ठता देखाउने अवसर प्राप्त हुँदोरहेछ । योभन्दा पनि महत्वपूर्ण कुरा जनता सामु यिनीहरुको अग्निपरीक्षा हुन्छ । यही कारण एमाले माओवादी एकता एक अर्थमा सकारात्मक हो ।

समस्यालाई जसले जसरी बुझे पनि ओली र प्रचण्डले सामना गरेको समस्या प्रकारान्तरले एउटै हो । यो समस्या चिन्तन र बिचारधारा असफलताको समस्या हो

अर्को अर्थमा यी दुई समूहको एकता बेइमानी पनि हो । इतिहासमा दुवै पार्टीले समर्थकहरुलाई निश्चित ‘सपना’ देखाएका थिए । निश्चित आदर्श निर्माण गरेका थिए । माओवादीले नौलो जनवादको सपना । एमालेले बहुदलीय जनवादको सपना ।

माओवादीका लागि ओली विदेशी दलाल, संशोधनवादी र प्रतिकृयावादी थिए । एमालेका लागि प्रचण्ड आतंककारी र जडसुत्रवादी थिए । आपसमा यत्रो दुरी भएका पार्टीपीच एकाएक मिलन कसरी सम्भव हुन्छ ? यो त हदै नाटकीय भयो ।

यसले हजारौं सदस्य, जो आ-आफ्ना पार्टीमा प्रचण्ड र ओलीलाई आदर्श मान्दथे, उनीहरुमाथि अपमान भयो । आफैंबाट आफ्ना आदर्शको खण्डन भयो । यसरी समर्थकहरुको अपमान गर्नु र आफैंले खडा गरेको आदर्शबाट हठात च्यूत हुनु पक्कै राम्रो होइन । यस अर्थमा यिनीहरुको एकतामा नैतिकता र औचित्यको प्रश्न उठ्छ ।

एमाले माओवादी एकताको खास कारणचाहिँ आफ्ना आदर्श र लक्षप्रति दुवै नेतृत्वमा आएको विरक्तिको परिणाम हो । यसमा बिरासत जोगाएर ब्याज खाने मोह पनि छ । त्यसो त मोह र विरक्ति एउटै सिक्काका दुई पाटा हुन् । त्यसैले सूक्ष्म अर्थमा यो पार्टी एकता मोह र विरक्तिको खेल हो ।

लामो राजनीतिक जीवनको कटू अनुभवबाट सायद उनीहरुमा यो बोध भएको हुन सक्छ कि यही तरिकाले अब धेरै लामो यात्रा गर्न सकिन्न । प्रचण्डका लागि साम्यवादी बिचारधारालाई साकार पार्न असम्भव छ, त्यसैले जसरी भए पनि अब बाटो बदल्नै पर्छ, बिरासत जोगाउने उपाय निकाल्नै पर्छ भन्ने लाग्यो होला । एमालेका लागि माओवादी जस्तोसुकै होस्, अब उसको सहारा नलिई उपाय छैन भन्ने लाग्यो होला । सायद यसरी नै यी दुईको मिलन सम्भव भयो ।

संकटको चरित्र

समस्यालाई जसले जसरी बुझे पनि ओली र प्रचण्डले सामना गरेको समस्या प्रकारान्तरले एउटै हो । यो समस्या चिन्तन र बिचारधारा असफलताको समस्या हो । यो राष्ट्रिय मात्र होइन, वैश्विक संकट हो । यो साम्यवादीको मात्र होइन पुँजीवादीको पनि संकट हो । कुनै नेता बिषेशको कमजोरीले यो पैदा भएको होइन । यो त समय र प्रकृतिले पैदा गरेको संकट हो । त्यसैले यसमा व्यक्ति बिषेशलाई मात्र दोषी बनाउन मिल्दैन ।

उनीहरुको कमजोरी कति मात्र हो भने जे समस्या हो त्यो इमानदारीसाथ सार्वजनिक गर्नु पर्दथ्यो । कम्युनिष्ट बिचाराधारालाई हुबहु अगाडि बढाउन असम्भव रहेछ भन्नु पर्दथ्यो । यसको लक्ष नै दोषपूर्ण रहेछ भन्नु पर्दथ्यो । उनीहरुले यसो नगरी चलाखीपूर्ण हिसावले भ्रम छर्ने र प्रतिष्ठा जोगाउने मोहग्रस्त कुटिल खेलको रचना गरे । यही मात्र उनीहरुको कमजोरी हो ।

चिन्तन प्रणाली एवं बैचारिक पक्षलाई बिकास गरेर मात्र यो समस्या समाधान हुन्छ । आजसम्मको मानव ज्ञान बिकासलाई मूलतः तीन चरणमा विभाजन गर्न सकिन्छ । पहिलो ‘बाल बुद्धि’को चरण । यस अन्तरगत ईश्वरवादी दर्शन र सामन्तवादी बिचारधारा आउँछ । दोश्रोमा ‘काँचो बुद्धि’को चरण । यसअन्तरगत भौतिकवादी दर्शन र पुँजिवादी/साम्यवादी बिचारधारा आउँछ । तेश्रो ‘परिपक्व बुद्धि’को चरण । यस अन्तरगत सर्वाङ्गीण दर्शन र सर्वाङ्गीण बिचारधारा आउँछ ।

कम्युनिष्टहरुले मात्रै क्रान्ति वा परिवर्तन गर्छन् भनी विश्वास गर्नेहरुले अब गम्भीरतापूर्वक सोच्न जरुरी देखियो । नेपालमा कम्युनिष्टहरुलाई जनताले मौका दिँदादिँदै पनि उनीहरु किन असफल भइरहेका छन् ? विश्वमै किन कम्युनिष्टहरु हराउँदै गए ?

आज मानव ज्ञानका विभिन्न विधाहरु तेस्रो चरणमा बिकसित भएका छन् । यद्दपि दर्शन र बिचारधारामा यसलाई सामान्यीकरण गर्ने काम पछि परेको छ । साथै आजसम्म यसको वकालत गर्ने कुनै राजनीतिक समूहले जन्म लिएको छैन । त्यसैले वास्तविक अभ्यासमा भने आज पनि ‘काँचो बुद्धि’कै चरणका ज्ञानलाई जवरजस्ती लागु गर्ने कोशिश भइरहेको छ ।

अर्थात आजका पुँजिवादी र साम्यवादी पार्टीहरुको बैचारिकी नै ‘काँचो बुद्धि’ले बनेको छ । ‘बाल बुद्धि’ भन्दा यो प्रगतिको अवस्था त हो । तर, यसका ऐतिहासिक सीमा छन् । जुन आज हामी भोगिरहेका छौं ।

यसले होसपूर्ण सक्रियताको विधि सिकाउन सक्दैनन् । यसले प्राकृतिक लक्ष निर्धारण गर्न सिकाउँदैनन् । मानिसलाई एकांगी बनाउँछ । सम्भवै नहुने अप्राकृतिक लक्षको भ्रममा मोहग्रस्त बनाउँछ । यस्तो सोच वा सिद्धान्तले क्षणिक चमकधमक त पैदा गर्दछ । तर, दीर्घकालसम्म टिकाउ हुँदैन । यही समस्यालाई बिचारधारात्मक संकट भनिएको हो ।

ओली-प्रचण्डलगायत विश्वभरका पुँजीवादी र साम्यवादीहरुको दुःख नै यही हो । अझ यो सम्पूर्ण भौतिकवादीहरुको दुःख हो । भौतिकवादी पद्दतिभन्दा बिकसित चिन्तन पद्दतिको पहिचान र अभ्यासले मात्र यो दुःखबाट मुक्ति मिल्छ ।

समृद्धिको सपनाः

समृद्धि भन्ने शब्द यतिबेला फेसन भएको छ । यसपालि चुनावमा प्राय सबैले यो मन्त्र जपेका छन् । तर, यो हावामा महल बनाउने काम बाहेक केही होइन ।

अब बन्ने गठबन्धन सरकारले छिमेकीको विश्वास जितेर बिकासका लागि मद्दत जुटाउन सक्यो भने त्यसलाई राम्रै भन्नुपर्छ । तर, यतिले नै समृद्धि र बिकासको ग्यारेन्टी हुन्न । समृद्धि र बिकास भनेको ‘दृष्टिकोण’ र ‘प्रकृया’ दुवैको प्रश्न हो । अर्थात यो समाजको दीर्घकालीन परिकल्पना र त्यसलाई पूरा गर्ने श्रोत साधन र क्रियाकलापको व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्न हो । बिदेशीले श्रोत साधनसम्म जुटाइदिन सक्छन् । तर, अरु पनि केही चाहिन्छ समृद्धिका लागि । त्यो भनेको मूलतः उन्नत दृष्टिकोण नै हो ।

बिकासको भौतिकवादी दृष्टिकोणले त अन्ततः बिनाश निम्त्याउने रहेछ । यो कुरा समकालीन विश्व परिवेशले स्पष्ट देखाइरहेको छ । त्यसैले समृद्धि र बिकासको मामिलामा चीन वा भारत वा अमेरिका वा यस्तै कुनै छिमेकी हाम्रा आदर्श हुन सक्दैनन् । अर्थात रेल कुदाउँदैमा, बाटो बनाउँदैमा, ठूला बिजुली आयोजना बनाउँदैमा मात्र त्यसले समृद्धि दिइहाल्दैन ।

यसका अतिरिक्त गर्नुपर्ने अरु पनि काम हुन्छन् । जसले सुस्पष्ट दृष्टिकोणको माग गर्छ । समाजवाद शव्द अब त आफैंमा भ्रम भई सक्यो । त्यो मन्त्र जप्दैमा त्यस्तो उन्नत मार्गदर्शन प्राप्त हुदैन । अहिले मूल काम समृद्धि भनेर सुशासनका मुद्दालाई ओझेलमा पार्नु पनि गलत हुन्छ । गठबन्धन सरकारले सुशासन र समृद्धिका कामको उचित सन्तुलनमा ध्यान दिने कुरामा नै शंका छ । निचोड के हो भने दिगो सुशासन र समृद्धिको निर्माण गर्ने ज्ञान र संस्कृति वर्तमान गठबन्धनसँग छैन ।

अब के गर्ने ?

कम्युनिष्टहरुले मात्रै क्रान्ति वा परिवर्तन गर्छन् भनी विश्वास गर्नेहरुले अब गम्भीरतापूर्वक सोच्न जरुरी देखियो । नेपालमा कम्युनिष्टहरुलाई जनताले मौका दिँदादिँदै पनि उनीहरु किन असफल भइरहेका छन् ? विश्वमै किन कम्युनिष्टहरु हराउँदै गए ?

कम्युनिष्ट सिद्धान्त सही, यसलाई लागु गर्ने नेता खराब भएर यस्तो भएको होइन । बरु कम्युनिष्ट लक्ष नै अप्राकृतिक हो, त्यसकारण कुनै नेताले त्यसलाई सफल बनाउन सकेनन् । वास्वविकता चाहिँ यो हो । पुँजीवादी बिचार पनि संकटग्रस्त छ । त्यसैले ‘लोकतन्त्रवादी’ भनिनेहरुले पनि अब यही ढंगले सोच्न जरुरी देखियो ।

मार्क्र्सवादलाई दह्रोसँग पक्रिएर वा अर्को कम्युनिष्ट पार्टी बनाएर यो समस्या समाधान हुँदैन । यो त झन अर्को ‘ओली’ ‘प्रचण्ड’ जन्माउने लाइन हो ।

शुद्ध पुँजीवादी हुने प्रयास गरेर पनि समाधान छैन । पुँजीवाद र साम्यवादको घेरामा समाधान खोज्नु भनेको भौतिकवादी सौर्यमण्डलभित्र नयाँ ग्रह जन्माउनु जस्तै हो । जुन भौतिकवादी ‘सूर्य’ निभ्दा सँगसँगै नष्ट हुन्छन् । बरु अबको प्रयास चिन्तन तथा बिचारको क्षेत्रमा नयाँ सौर्य मण्डलको पहिचान गर्नतर्फ लक्षित हुनु पर्छ ।

  • बुधबार, पुस १२, २०७४ मा प्रकाशित