लिफ्टका लागि हात हल्लियो । यति राति मागिएको लिफ्टलाई बेवास्तागर्न मिल्दैन भन्नेलाग्यो । प्रायः अफिसको काम सकेर म रातको १२ बजे घर जान्थेँ । नयाँ बानेश्वरबाट कीर्तिपुरसम्मको यात्र हुन्थ्यो। त्यसदिन पनि म बबरमहल पुगेको थिएँ । जहाँ कुनै युवतीको हात हल्लियो । र, म आफ्नो मोटरसाइकल रोक्न बाध्य भएँ ।

‘प्लिज मलाई लिफ्ट दिनु न दाइ, ट्याक्सी नि पाइएन’ मधुर आवाजमा उसले भनी । तर, उसको दाइ शब्दले मलाई कताकता नरमाइलो लाग्यो ।एकपटक ऊतिर कर्के नजर लगाएँ । साँच्चै आत्तिएकीजस्ती देखिन्थी ऊ । मैले उसको उमेर पनि अनुमान लगाएँ । सायद २० वर्षकी हुँदी हो । मभन्दा ३, ४ वर्ष सानै रहिछे त, मनमनै सोचेँ । अनि फेरि उसको दाइ शब्द कानमा गुञ्जियो ।‘कहाँसम्म जाने ?’ मैले प्रश्न तेस्र्याइहालेँ । ‘बल्खु’ उसले तत्काल उत्तर फर्काई । बाइकमा बस्न आग्रह गरेँ । उसले कत्ति ढिला गरिन ।

ऊ को हो ? के गर्छे ? यति राति एक्लै किन यसरी हिँडेकी होली ? भन्ने प्रश्नले मनमा काउकुती लागिरह्यो । सामान्य गेटअप र एउटा साइड ब्यागमा सजिएकी ऊबारे मलाई अनुमान लगाउन गाह्रो पर्यो । कतै लुटेरापो होकि ?बाटोमा ग्याङ पो छ कि ? भन्ने प्रश्न मनमा खेल्न छाडेन । लजालु स्वभावको म, केटीहरूसँग कम नै बोल्ने गर्थेँ । त्यसैले होला न ऊसँग बोल्ने आँट नै आयो ।

लेखक

त्रिपुरेश्वर पुगेपछि उसले नै सोधी, ‘यति राति हजुर कताबाट आउनुभएको नि ?’मेरा लागि रात, उसका लागि दिन !‘कताबाट आउँदै हुनुहुन्छ भने भइहाल्थ्यो नि’ मनमा फेरि कुराहरू खेल्न थाले । ‘म अफिसबाट आउँदै’ त्यसलाई बेवास्ता गर्दै मैले उत्तर फर्काएँ । ‘यति रातिसम्म अफिस ! के काम गर्नुहुन्छ नि ?’ नपत्याएजसरी उसले सोधी । डान्सबारको बाउन्सर या आफ्नै दोहोरी साँझ छ भन्न मन लागेको थियो । तर, भनिनँ । आफ्नो पेसा लुकाउनु त्यसलाई अपमान गरेसरह हुने ठहर गरेँ । र, भने, ‘पत्रकार हुँ ।’ ‘ओ आई सी’ उसले रियाक्सन देखाई । मलाई त्यसप्रति कुनै चासो भएन । यदि उसलाई पत्रकारिताप्रति केही जानकारी छ भने यति रातिसम्म बस्नुपर्छ र ? भन्ने प्रश्न गर्दिन भन्ने लाग्यो । र, गरिन पनि ।

हामी कालिमाटी पुगिसकेका थियौँ । उसले मलाई दुईवटा प्रश्न गर्दा मैले पनि केही सोध्नुपर्छजस्तो लाग्यो । ‘तिमीचाहिँ कहाँबाट आउँदै छौँ नि ?’ धेरै नसोची सोधिहालेँ । ‘म बार डान्सर हुँ, त्यहीँबाट आउँदैछु ।’ उसले पनि कुनै हिचकिचाहटविना उत्तर दिई । उसको गेटअप हेर्दा ऊ बार डान्सरजस्ती देखिँदैनथी । मेकअप भने मज्जैले गरेकी थिई । मैले फेरि सोधेँ, ‘यही ड्रेसमा डान्स गर्छौ?’ ‘कहिल्यै डान्सबार जानुभएको छैन क्या हो । घर निक्लँदा चेन्ज गरेर आउँछौँ,’ उसले भनी । एकपटक साथीले जाऊँ भनेको थियो । तर, म गइनँ । साँच्ची भन्ने हो भने म कहिल्यै डान्सबार गएको थिइनँ । केटीहरू छोटा लुगा लगाएर नाच्छन् भन्ने सुनेको थिएँ ।

पत्रकार भएर पनि होला डान्सबारकी केटी भेट्दा मलाई खुसी लाग्यो । सुनेको थिएँ उनीहरू धेरै संघर्षबाट यहाँसम्म आएका हुन्छन् । त्यसैले पनि ऊ मेरा लागि समाचार थिई । यसको स्टोरी गर्न पाए कस्तो राम्रो हुन्थ्यो होला भन्नेसम्म सोच्न भ्याइसकेछु । मलाई ऊबारे जान्ने इच्छा जाग्यो । बाइकको स्पिड कम गरेँ । र, उसको प्रश्नको उत्तर फर्काउँदै भनेँ, ‘गएको छैन । साँच्ची के हुन्छ त्यहाँ ?’

ऊ मेरो कुरा सुनेर जोडजोडले हाँस्न थाली । एकैछिनमा रोकिई । र, भनी, ‘सरी ।’ डान्सबारका केटी छाडा हुन्छन् भन्ने सुनेको थिएँ । तर, ऊ हरेक कुरामा सिरियस देखिन्थी । बोल्ने शैली पनि अनुशासित थियो । मनमा धेरै प्रश्नहरू थिए । तर, बल्खु आउनै लाग्यो । अब के गर्ने ?कुनै आइडिया आएन । सोच्दासोच्दै बल्खु चोक नै आइपुग्यो । ‘हजुर कहाँसम्म ?’ चोकनिर बाइक रोक्नासाथ उसले प्रश्न गरी । ‘कीर्तिपुर’ मैले भनेँ । ‘म नि त्यतै हो । अघि तपाईं कहाँसम्म भन्ने थाहा थिएन, बल्खुसम्म जान पाए हिँड्दै नि जान्थेँ भनेरबल्खु भनेकी,’ उसले भनी । मलाई भने ठूलै राहत मिलेजस्तो भयो । हत्तपत्त प्रश्न गर्न थालिहालेँ, ‘के तिमी यो कामबाट खुसी छौ?’ उसले पनि उत्तर दिइहाली, ‘अरू काम कसले दिन्छ र हामीलाई । न धेरै पढ्न सकियो, न कोही चिनेजानेका नै छन्। जे पाइन्छ त्यही गर्ने हो ।’

‘धेरै नपढे पनि इंग्लिस त राम्रै बोल्दिरहिछौ त ?’ मैले भनेँ । ‘११ कक्षासम्म त पढेकी हुँ नि । पढाइमा राम्रै थिएँ । पछि बुवा बित्नुभयो । आमा अर्कैसँग गइन् । त्यसपछि पढ्न सकिनँ,’ उसले आफ्ना व्यक्तिगत कुरा पनि खोल्न थाली । उसको कुराले मलाई भने कताकता छोयो । कुनै भूमिका नबाँधी अर्को प्रश्न तेस्र्याइहालेँ, ‘अरू काम पायौ भने गर्छौ त ? तिमी बोल्नमा सिपालु रहिछौ ।’ ‘पाए त किन नगर्नू,’ उसले छोटो जवाफ फर्काई । मैले उसलाई अफिसमा खाली रहेको रिसेप्सनिस्टको पोस्टमा अफर गरेँ । ‘तलब कति ?’ उसले प्रश्न गरी । ‘सुरुमा १५ हजार । राम्रो गर्दै गयौ भने बढ्छ,’ मैले भनेँ । ‘अहिलेको भन्दा दोब्बर’ ऊ खुसी भई । यसमै उसको हुन्छ को लवज मिसिएको थियो । ‘काम कहिलेदेखि सुरु गर्छौ त ?’ मैले सोधेँ । ‘भोलिदेखि नै,’ उसले भनी ।

‘ल म यहीँनिर हो, रोक्नुस् ल,’ कीर्तिपुर प्रवेशद्वार नपुग्दै उसले भनी । मैले बाइक रोकेँ । ऊ झरी । उसको नम्बर मागेँ र फोन गर्ने बताएँ । ‘सुन्नुस् न…’ ऊ केही भन्दै थिई,तर रोकिई । ‘भन न,’ मैले भनेँ । ‘यतिठूलो गुन लगाउनुभयो, मसँग दिने केही छैन । हजुरलाई केवल एक रात दिनसक्छु,’उसको कुरा सुनेर झसंग भएँ । म केही बोलिनँ । फेरि उसले नै भन्न थाली, ‘यो काठमाडौंमा शरीर धरौटी नराखी केही नपाइँदो रहेछ । मलाई त बानी परिसक्यो । धेरैले आश्वासन दिँदै मेरो भावनासँग खेले । तर, तपाईं उनीहरूभन्दा फरक लाग्यो, आश्वासन पूरा गर्ने खालको । त्यसैले…’ ऊ फेरि रोकिई । उसको कुरा सुनेर खस्नै लागेको आँसु थामेँ । उसले मैले अहिलेसम्म नदेखेको काठमाडौंको भित्री चरित्र देखाइदिई । साँच्ची कति निर्दयी रहेछ यो काठमाडौं !

‘आजदेखि तिमी मेरी बहिनी भयौँ । मेरा दिदीबहिनी छैेनन् । अब म हरेक तिहारमा तिमीसँग भाइटीका लगाउँछु,’ उसमा रहेको काठमाडौंप्रतिको अविश्वास र त्रास चिर्ने प्रयास गरेँ । कति सफल भएँ मलाई थाहा छैन । तर, अब उसलाई सही बाटोमा ल्याउने जिम्मेवारी मेरो काँधमा थियो । मेरो कुरा सुनेर उसको आँखाबाट आँसु झरिरहेको थियो । सायद त्यो खुसीको आँसु हुनुपर्छ । अब मलाई उसको जीवनी उतारेर पत्रिकाको पानामा व्यापार गर्नुथिएन । थियो त केवल उसलाईसही बाटो देखाउने र पढाइका लागि प्रेरणा दिने । ऊसँग छुट्टिँदै गर्दा मनमनै सोचेँ, ‘उसमा रहेको काठमाडौंप्रतिको बुझाइ परिवर्तन गर्नैपर्छ ।’

(कृष्ण आचार्य, नयाँ पत्रिकाकाे गज्जब साप्ताहिकबाट)

  • बुधबार, पुस ५, २०७४ मा प्रकाशित