‘यो प्रणालीबाट आवेदन दिनेले एक पटक निक्षेप खाता रहेको आफ्नो बैंकमा गएर प्रमाणिकरण गरे पुग्छ, त्यसपछि उसले घरै बसेर इन्टनेटको सहयोगमा बैंकको वेवसाइट वा सीडीएससीकै वेवसाइटबाट पनि सेयरमा आवेदन दिन सक्नेछ,’ गुप्ताले थपे । यो प्रणालीको परिक्षण समेत भइसकेको छ । हालै हिमालयन पावर पार्टनरको आइपीओ निष्कासनमा यस्तो परिक्षण गरिएको र सफल भएको सीडीएससीले उल्लेख गरेको छ ।

त्यस्तै, यही असार १८ गतेबाट सेयर कारोबारको राफसाफको क्रममा ब्रोकर कम्पनीहरुले नेट सेटलमेन्ट समेत गर्न पाउने भएका छन् । ब्रोकरहरुले सेयर खरिद गर्न चाहने ग्राहकको लागि सेयर किन्ने आदेश दिने र बिक्री गर्न चहानेको लागि बिक्री आदेश प्रणालीमा प्रविष्टि गरिदिन्छन् ।

यसरी बिभिन्न ब्रोकरबाट आएको किनबेच आदेश प्रणालीले म्याच गरेर कारोबार गराउँछ । सेयर किन्न आदेश दिएको ब्रोकरले बेच्न आदेश दिने ब्रोकरको खातामा जाने गरि राफसाफ बैंकमा रकम जम्मा गरिदिन्छन् ।

राफसाफ (क्लियरिङ) बैंकले बेच्न आदेश दिने ब्रोकरको खातामा सो रकम ट्रान्सफर गरिदिन्छ ।  एउटै ब्रोकरले कहिले सेयर बेच्ने आदेश त कहिले सेयर किन्ने आदेश दिइरहेको हुन्छ । नेट सेटलमेन्टको व्यवस्था पछि अब उसले आफुले सेयर बेच्न दिएको आदेशको रकमभन्दा सेयर किन्न दिएको आदेशको रकम बढि भएमा मात्र राफसाफ बैंकमा जम्मा गर्नुपर्नेछ । बराबर भएमा आफु मार्फत सेयर बेच्न आदेश दिएका ग्राहकलाई सोझै भुक्तानी दिन सक्नेछ ।

यसले हाल सेयर कारोबार पछि राफसाफ तथा फछ्यौटमा लाग्दै आएको समय कटौती हुने विश्वास सीडीएससीले लिएको छ । सीडीएससीले हालै तीनवटा राफसाफ बैंक नियुक्त गरेपछि नेट सेटलमेन्टको शुरुवात गर्न लागेको हो । राफसाफ बैंकमध्ये नेपाल इन्भेष्टमेन्ट बैंक लिड बैंकको रुपमा रहने छ ।

सीडीएससीले  डिम्याट खाता भएकाहरुको सुविधाको लागि मेरो सेयर नामको सफ्टवेयर मार्फत्. अनलाइन सेवा पनि दिइरहेको छ । यो सेवा प्रयोग गर्नेको संख्या ३७ हजार पुगेको छ । यो सेवा लिएकाहरुले आफ्नो खातामा रहेको सेयर संख्या र तत्कालको सेयर मूल्यको आधारमा हुने सम्पत्ती विवरणको पनि जानकारी पाउने गरेका छन् ।

  • शुक्रबार, असार १६, २०७४ मा प्रकाशित