१० माघ, काठमाडौं

नेपाली समाजमा आजको दिनमा सबैभन्दा आलोचित व्यक्ति कोही छन् भने ती हुन् – प्रधानन्यायाधीश गोपाल पराजुली । र, सबैभन्दा बढी चर्चित कोही छन् भने उनी हुन्- डा. गोविन्द केसी । तर, यी दुईका बीचमा कहाँनेर छिन् प्रधानन्यायाधीश गोपाल पराजुलीकी कान्छी श्रीमती वासन्ता गौतम पराजुली ?

झट्ट हेर्दा सामान्य ग्रामीण महिलाजस्तै सरल देखिने वासन्ता गौतम नेपाल सरकारकी उपसचिव रहिछिन् (अनलाइनखबरले यसअघि उनलाई गृहिणी लेखेको थियो ।) मंगलबार बेलुका अन्तरवार्ताका लागि हामी बालुवाटारस्थित प्रधानन्यायाधीशनिवासमा पुग्दा उनी भर्खरै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट फर्कँदै थिइन् ।

डा. गोविन्द केसी भर्सेस गोपाल पराजुलीबीचको द्वन्द्वका कारण कतिपय मानिसले हामीलाई के आरोप लगाउन सक्छन् भने प्रधानन्यायाधीशकी पत्नीको अन्तर्वार्ता लिएर अनलाइनखबरले कतै प्रधानन्यायाधीश पराजुलीलाई चोख्याउन खोजेको त होइन ? तर, हाम्रो ध्येय पराजुलीमाथि लागेका आरोपको खण्डन गर्ने नभएर उत्खनन गर्ने मात्रै हो । प्रश्नहरुको उत्खखन गर्नु मिडियाको धर्म हो ।

यही सिलसिलामा अनलाइनखबरले प्रधानन्यायाधीश पत्नी बासन्तालाई निर्मम प्रश्नहरु सोधेको छ । र, हाम्रा निर्मम प्रश्नहरुको जवाफ पनि उनले उस्तै निर्मम ढंगले नै दिइन् ।

यदि प्रधानन्यायाधीश पराजुली भ्रष्टाचारी हुन् भने श्रीमानविरुद्ध आफू पनि छोरालाई समेत लिएर माइतीघर मण्डलामा डा. गोविन्द केसीसँगै उभिन तयार रहेको बताउँदै बासन्ताले भनिन्- मलाई डा. केसीसँग भेट गर्न मन छ ।

चौथी श्रीमतीका रुपमा गोपाल पराजुलीसँगको विवाहको प्रशंगमा सोधिएको प्रश्नमा उनको जवाफ छ- ‘धेरै महिलाहरुले सुन्दर संसारको कल्पना र सपनाले विवाह गर्छन् । म सपनाको घर सजाउन होइन, भत्किएको मन र विक्षिप्त भएको परिवारिवारिक दायित्व बोक्न आएकी थिएँ ।’

तपाईं वासन्ता पराजुली कि वासन्ता गौतम ?

घरबाहिर र जागिरमा म वासन्ता गौतम हुँ । विवाहअघि नै नागरिकता बनाएर कलेज पढाउन थालेका कारणले म घर बाहिर वासन्ता गौतमकै रुपमा चिनिन्छु । घरभित्र चाहिँ वासन्ता पराजुली, श्रीमान् पराजुलीकी श्रीमती ।

तपाईंलाई श्रीमान् पराजुलीकी चौथी श्रीमती भनेर सम्वोधन गर्दा कस्तो लाग्छ ?

मैले उहाँका तीन श्रीमतीलाई देखिनँ । सायद यही कारण हुन सक्छ, म आफू चौथी हुँ भन्ने लाग्दैन । विवाह गरेको १९ वर्ष भयो । त्यसम्ाध्येका १५ वर्ष चौथी हुँ भन्ने कुरा मलाई सम्झनामा पनि भएन र त्यस्तो कुनै कुरा महसुस पनि भएन । धन्यवाद, केही वर्षयता ‘चर्चित’ मिडियाहरुले मलाई म चौथी भनेर सम्झाइरहन्छन् ।

भनेपछि श्रीमान् पराजुलीले चारवटा विवाह गरेको सत्य हो ?

सत्य हो । तर, हाम्रो बौद्धिक समाज कति असंवेदनशील छ भने मलाई श्रीमानकी चौथी श्रीमतीका रुपमा चित्रित गरिरहन्छ । तर, अर्थशास्त्रमा मास्टर डिग्री गरेकी, एकसाथ कलेज पनि पढाउने र तुलसीपुरमा युएनडीपीको जागिर खाने सक्षम महिलाले किन चौथो श्रीमतीका रुपमा पराजुलीको घरमा प्रवेश गरेँ होला ? हाम्रो बौद्धिक समाज यसको खोजी पनि गर्दैन र चासो पनि राख्दैनन् ।

मैले तपाईंहरुका केही आफन्तलाई भेटेको छु र श्रीमान् पराजुलीका बारेमा केही बुझेर पनि आएको छु । तपाईं सत्य बोल्न तयार हुनुहुन्छ ?

राम्रो गर्नुभयो । सत्य र न्यायको पक्षमा अडिग रहने मेरो सदैव प्रयास रहेको छ । किनभने मेरो पालन-पोषण र संस्कार पनि त्यस्तै रह्यो ।

तपाईंले बुझ्नु नै भयो होला, मेरा बुवा समाजसेवी र शिक्षासेवी हुनुहुन्थ्यो । छोरीहरुलाई रोलमोडलका रुपमा प्रस्तुत गर्न चाहनुहुन्थ्यो । यही कारण दाङमा जन्मिएका-हुर्किएका छोरीहरुलाई रोल्पामा लगेर पढाउनुभयो । रोल्पाको त्रिवेणी गाउँपालिका पुग्नुभयो भने त्यहाँ जनजागृति उच्च माध्यामिक विद्यालय राम्रोसँग सञ्चालन भएको देख्नुहुनेछ । त्यो विद्यालयको स्थापना मेरा बुवाको नेतृत्वमा भएको हो । उहाँ रोल्पाका छोरीहरुले पनि विद्यालय पढून् भन्ने चाहनुहुन्थ्यो । तर, लामो समयसम्म कसैले पनि छोरीहरुलाई पढाएनन् । यो देखेर बुवा विरक्त हुनुभयो र दाङबाट हामी चारजना छोरीलाई रोल्पा लैजानुभयो र ४ वर्ष पढाउनुभयो ।

हामी विद्यालय जान थालेको ३ वर्षमा त्यो विद्यालयमा २० जना छोरीहरु भर्ना भए । त्यसपछि मात्रै हामीले दाङ झर्ने अवसर पायौं ।

छोराहरुका विषयमा तपाईका बुवाको धारणा के थियो ?

बुवाले राम्रोसँग पढ्न पाउनुभएन । यही कारण, आफ्ना चार छोराहरुमध्ये एकजनालाई राष्ट्र बैंकको गभर्नर बनाउन चाहनुहुन्थ्यो । यही कारण कमर्श पढाउनुभयो । माइला छोरालाई न्यायाधीश बनाउन चाहनुहुन्थ्यो, यही कारण कानुन पढाउनु भयो । तेस्रो छोरालाई इन्जिनियर बनाएर देशको विकासको मोडल तयार पार्ने व्यक्ति बनाउन चाहनुहुन्थ्यो र कान्छोलाई डाक्टर बनाउन चाहनुहुन्थ्यो ।

छोराहरुलाई डाक्टर, इञ्जिनियर पनि बनाउनुभयो । कानुन पढेका माहिला दाइ बित्नुभयो । बुवाको पीडा कम गर्न सक्छु भनेर मैले कानुन पढें । यस अर्थमा उहाँमा पर्याप्त चेतना थियो । हाम्रो संस्कार नै अध्ययनशील र सेवाग्राही भएको लाग्छ ।

नेपालमा अहिले पनि छोरीको चाँडै विवाह गर्ने चलन छ । तपाईंको ३० वर्षको उमेरमा विवाह भएको देखिन्छ, किन ढिलो ?

म पहिलेदेखि नै अलि फरक तरिकाले सोच्थें । र, समाजमा देखेका अनौठा कुराहरुप्रति आफैंलाई विभिन्न किसिमको प्रश्न गर्थे । हाम्रो संयुक्त परिवार थियो । यो संयुक्त परिवारमा हामी छोरीहरुको मानमनितो हुन्थ्यो । खुट्टा ढोगिन्थ्यो । टीका लगाएर पैसा दिइन्थ्यो । धेरै काम गर्न लगाइँदैनथ्यो ।

तर, घरमा विवाह गरेर आउनुभएका भाउजूहरुले हामीभन्दा बढी काम गर्नुपर्दथ्यो । उहाँहरुको इज्जत पनि हाम्रो जति हुँदैनथ्यो । हामीभन्दा पछि त्यो पनि सामान्य किसिमको खाना खानुपर्दथ्यो । यो फरक देख्दा मलाई अनौठो लाग्थ्यो ।

अलिकति ठूली भएपछि थाहा पाएँ, उहाँहरुलाई ‘कन्यादान’ गरिएको हो । दानका रुपमा उहाँहरु हाम्रो घर आउनु भएको हो । छिमेकी पण्डितका घरमा दानमा धेरै गाईहरु आउँथे । दानमा आएका ती गाईको खाना पनि सामान्य पराल मात्रै हुन्थ्यो ।

यो देखेर मलाई दानमा कसैको घरमा जाने इच्छा भएन । बरु राम्रोसँग पढेर केही बन्ने इच्छा जागृत भयो । सुरुमा पढाइमा व्यस्त भएँ, पछि जागिर खाएर विवाह गर्छु भन्नेतिर लागियो । संघर्ष गर्दागर्दै २८ वर्ष भैसकेको पत्तै भएन ।

२८ वर्ष कि ३० वर्ष ?

एसएसलसी दिँदा म १४ वर्षकी थिएँ । त्योबेला १६ वर्ष नभई एसएलसी दिन पाइँदैन भन्ने चलन थियो । यही कारण रजिस्ट्रेसन भर्दा बुवाले १६ वर्ष बनाइदिनुभयो । जागिरमा र पढाइमा सधैं दुई वर्ष जेठी हुनुको कारण यही हो ।
मेरो फिजिकल बडी सधैं दुई वर्ष कम हुन्छ । खासमा मेरो विवाह २८ वर्षको उमेरमा भएको हो । तर, नागरिकताको हिसावले ३० वर्षकी हुँदा यो घरमा भित्रिएकी हुँ ।

अनि गोपाल पराजुलीको घरमा भित्रिँदा म चौथी श्रीमतीका रुपमा छिर्दैछु भन्ने जानकारी थियो ?

विवाह नगर्ने अडानमा बसिरहेका बेला मेरा बुवाआमा चारधाम जानुभएको थियो । फर्केर आएका बेला कसैले उहाँहरुलाई सोध्यो, ‘चारधाममा के माग्नुभयो ?’ उहाँहरुले सजिलै ‘यो छोरीको विवाह होस् भनेर माग्यौं’ भन्नुभयो । एउटी पढेलेखेकी युवती पनि माइतीका लागि बोझ बनेको देखेर मलाई नरमाइलो लाग्यो ।

यो सामाजिक सोचलाई परिवर्तन गर्न सक्तिनँ थिएँ । तर, यस्तो परिवारमा विवाह गर्न सक्थेँ, जसले मेरो वैवाहिक जीवनलार्इ सार्थकता प्रदान गरोस् ।

जुनबेला श्रीमान (गोपाल पराजुली) सँग विवाहको प्रस्ताव आयो र उहाँको जस्तो परिस्थिति मैले सुनें, मलाई लाग्यो, यो घरमा फगत म दानमा दुलही भएर मात्रै जान्नँ, एउटा परिवर्तनको माध्यम हुन्छु ।

कसरी ?

मैले थाहा पाएँ- श्रीमान पराजुलीको सानैमा विवाह भएको थियो, जुन विवाह दाम्पत्य जीवन सुरु हुनु धेरैअघि नै टुटेको रहेछ ।

दोस्रो विवाह पाल्पाकी विणा शर्मासँग भएको रहेछ । उहाँसँगको केही वर्षको सुखद दाम्पत्य जीवनमा दुई छोरा भएछन्, रुचिर र रुपेश । तर, चाँडै नै विणा दिदीलाई ब्लड क्यान्सर भएछ । स-साना छोरा, पीडादायी रोग, उपचारमा लागेको खर्च र त्यसको अस्तव्यस्तता, डेराको जिन्दगी, धेरै समस्या भोग्दाभोग्दै ०५२ सालमा विणादिदीको देहान्त हुन पुगेछ ।

यस्तो अवस्थामा दुई छोराहरुको विजोग देखेर आफन्तले उहाँलाई चाँडै विवाह गर्न सल्लाह दिए । स्वयं पाल्पाका ससुराली तर्फबाट पनि ज्वाइँलाई विवाह गर्न कर गर्न थाल्नुभएछ । न्यायाधीश जस्तो पेशा, दुई छोराहरुलाई सम्हाल्न आखिर कोही त चाहिन्थ्यो नै । उहाँले भरतपुरकी विन्दु पौडेलसँग तेस्रो विवाह गर्नुभयो ।

तर, भाग्यको खेल हेर्नुहोस्, ०५४ सालमा राजविराज जागिरबाट काठमाडौं स-परिवार फर्कदै गर्दा ढल्केवरमा उहाँको गाडी दुर्घटना भयो । त्यो दुर्घटनामा विन्दु पौडेल र छोरा रुचिरको दुःखद निधन भयो । उहाँ पनि मरणासन्न जीवनबाट फर्कनुभयो । सायद यी कुरा भोग्नु थियो ।

दुर्घटनामा अर्को छोरा रुपेश पराजुलीलाई भाग्यवस ठूलो चोट लागेन । यसरी रोग र शोकले थलिएको परिवारमा अर्को बज्रपात आइलाग्यो । श्रीमती र छोराको निधन भयो । आफू र कान्छो छोरा फेरि सहाराविहीन ।

यस्तो अवस्थामा विवाहका लागि मसम्म कुरा आयो । जब उहाँ र उहाँका आफन्तले मलाई यो घटना सुनाउनुभयो र विवाह गर्न सकिन्छ कि भनेर सोध्नुभयो, मलाई लाग्यो, म यहाँ अरुजस्तो दानमा दुलही भएर भित्रिनुपर्दैन । केही दायित्व निभाउने र कसैको जीवनमा परिवर्तनको काम गर्छु भन्ने लाग्यो । यही कारण म उहाँकी चौथी श्रीमतीका रुपमा उहाँको दुःख दर्द कम गर्न यस घरमा आएकी हुँ ।

धेरै महिलाहरुले सुन्दर संसारको कल्पना र सपनाले विवाह गर्छन् । म सपनाको घर सजाउन होइन, भत्किएको मन र विक्षिप्त भएको परिवारिवारिक दायित्व बोक्न आएकी थिएँ ।

तर, यसरी विवाह गर्दा तपाईंको प्राइभेट कलेज र ट्रान्सफर नहुने जागिरले तपाईलाई समस्या पारेन ?

पार्‍यो नि । विवाह गर्दा मैले कलेज र युएनडीपीको जागिर पनि माया मार्नुपर्‍यो । तर, ममा अनुभव थियो, उच्च अंकका सर्टिफिकेटहरु थिए । सबैभन्दा ठूलो कुरा म जहाँ गए पनि जागिर पाउँछु भन्ने आत्मविश्वास भएकाले दुबै जागिर छाड्न मलाई गाह्रो भएन ।

गोपाल पराजुलीको घरमा भित्रिँदा तपाईंले पहिलोपटक अनुभव गरेको कुरा के थियो ?

उहाँका सबै ससुराली परिवारसँग राम्रो सम्बन्ध रहेछ । सायद उहाँको असल व्यवहार र उहाँमाथि परेको बज्रपातमा उहाँहरु सबैको साथ थियो । यसकारण मलाई उहाँहरुले छोरीकै रुपमा माया गर्नुभयो ।

छोरा रुपेशलाई पहिलो पटक भेट्दा म के गरौं भन्ने लागेको थियो तर, उनले सुरुमै मलाई म्ाम्मी भनेर सम्बोधन गरे । यही एउटा शब्द र उनको कोमल व्यवहारले मेरो मातृत्व उम्लिएर आयो ।

खासमा आमा हुनका लागि सन्तान जन्माउनुपर्छ भन्ने धारणा नै गलत रहेछ भन्ने कुरा उनीसँग केही समय बिताउँदा नै थाहा भैहाल्यो । आमा हुनुअघि नै मलाई उनले आमाको दर्जा दिएर मलाई महान बनाइदिए ।

अर्को कुरा, मेरा जेठाजुका ४ छोरी र एक छोरा थिए । जेठाजुलाई पनि हड्डीको क्यान्सर भएको रहेछ । उहाँ पनि यही पीडाको सेरोफेरोमा बित्नुभएकाले छोरीहरुको दायित्व श्रीमान पराजुलीकै काँधमा आएको रहेछ । ठीक यहीबेला म दुलही भएर भित्रिएँ । एकसाथ मैले धेरै सन्तानकी आमा भएको महसुस गर्नुपर्‍यो ।

अहिले ती घटनाका बारेमा के सोच्नुहुन्छ ?

मैले त्योबेला खप्तडबाबाको विचार विज्ञान नामको पुस्तक पढेकी थिएँ । पुस्तकमा भनिएको थियो- यो संसार तिमीले जस्तो चाहन्छौ, त्यस्तै हुन्छ । तिम्रो विचार नै तिम्रो संसार हो ।

म आमा मात्रै होइन, असल अभिभावक हुन पनि यो घरमा भित्रिएकी थिएँ । मेरो स्वच्छ स्नेहको विचार छोराले पनि बुझे । छोरीहरुले पनि बुझे । यसरी म साँच्चै नै आमा भएँ । छोरीहरुको विवाहदान हामीले नै गरिदियौं । ती दिनहरु सम्झँदा खुसी लाग्छ ।

यस्तो राम्रो काम गर्नुभएको रहेछ । तर, अहिले श्रीमान् पराजुलीको विवाहका बारेमा आएका विविधखाले समाचारहरु पढ्दा र सुन्दा के महसुस गर्नुहुन्छ ?

आफू ठीक भएपछि कसैले लाख चाहेर पनि कसैलाई अप्ठ्यारो पार्न सक्दैनन् भन्नेमा हामी विस्वस्त छौं । असल मार्गमा हिँड्ने मानिसलाई दुःख हुन्छ, अरुले पनि पटक-पटक अप्ठ्यारो पार्छन् । तर, जीत सत्यकै हुन्छ भनेर श्रीमान बारम्बार भन्नुहुन्छ ।

रामले पनि दुःख पाएकै हुन्, युधिष्ठिरले पनि दुःख पाएकै हुन् । तर, उनीहरु विचलित भएनन् । यो समाजको संरचना, हाम्रा सञ्चार माध्यम र बौद्धिक समुदाय केही सीमित व्यक्तिको स्वार्थका कुरै नबुझी पछि लागेको देख्दा दुःख लाग्छ । तैपनि हामी पनि विचलित भएका छैनौं ।

श्रीमान् पराजुलीले एसएलसी पनि पास गर्नुभएको छैन भनिन्छ, कसरी न्यायाधीश अनि प्रधानन्यायधीश बन्नुभयो ?

तपाईंलाई एउटा प्रश्न सोध्छु है त ।

हुन्छ..

तपाईंले एकैपटक एसएलसी पास गर्नुभएको हो ?

होइन, म एकपटक अंग्रेजी विषयमा फेल भएँ । दोस्रो पटकमा पास भएको हुँ….

अझै अर्को प्रश्न गर्छु, हुन्छ ?

हुन्छ…

तपाईं अहिले पत्रकार भएर यहाँ आउनुभएको छ । एसएलसी फेल भएको व्यक्ति कसरी पत्रकार बन्नुभयो ? पक्कै, दोस्रोपल्ट पास गरेपछि पढ्दै गएर पत्रकार हुनुभयो । लेखक बन्नुभएको छ । आज अन्तरवार्ता लिँदै हुनुहुन्छ । हो, यसैगरी मेरा श्रीमानले पनि एकपल्ट एसएलसी फेल गर्नुभयो । त्यसपछि उहाँ पहाडतिर विद्यालय पढाउन जानुभयो ।

यो आजको कुरा होइन, ५० वर्षभन्दा अघिको कुरा हो । त्योबेला ८ कक्षा पढेका शिक्षकले पनि गाउँतिर विद्यालय पढाउन पाउँथे । जब एक वर्षपछि पढाइ पूरा गर्नुपर्छ भन्ने लाग्यो, त्योबेला वीरगञ्ज गएर राष्ट्रिय विद्यापीठमा प्रवेशिका परीक्षा दिएर उत्तीर्ण हुनुभयो । त्यसपछि कानुन पढ्नुभयो, अधिवक्ता हुनुभयो र आफ्नो क्षमताका आधारमा न्यायाधीश हुनुभयो ।

न्यायाधीश पद कुनै राजनीतिक पद होइन, जो कार्यकर्ता भएका आधारमा प्राप्त हुन्छ । यसका विधि छन्, नियम छन् । यसमा प्रतिस्पर्धा हुन्छ । न्यायपरिषद छ । सार्वजनिक सुनुवाइ हुन्छ । यत्रो सुनुवाइ हुँदा यसबारेमा एउटा पनि निवेदन परेन ।

तर, जब ४ वर्षअघि सर्वोच्चमा न्यायाधीश हुनुभयो, चारैतिरबाट सुनियोजित आक्रमण हुन थाल्यो । यति सामान्य कुरा पत्रिकाका सम्पादकले नबुझेका होइनन् । तर, कसैको इशारामा काम गरिरहेका छन् । तपाईं जस्ता पत्रकारलाई हाम्रा विरुद्ध लेखाइरहेका छन् ।

तर, दोस्रोपल्ट एसएलसी पास भएको सर्टिफिकेट पनि नक्कली हो भन्ने कुरा आइरहेको छ नि, यसमा के भन्नुहुन्छ ?

यो सर्टिफिकेट (गोपाल पराजुलीको सर्टिफिकेट देखाउँदै) नक्कली हो भन्ने प्रमाणित कसैले गर्न सक्छ भने आज उहाँ यो गरिमामय पदमा बसिरहनुहुन्छ भन्ने कल्पना पनि गर्न सकिँदैन ।

जुन विद्यालयबाट उहाँले प्रवेशिका उत्तीर्ण गर्नुभयो, त्यो २०१६ सालमा लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्री हुँदा स्थापना भएको हो । धन्न यो ओर्जिनल सर्टिफिकेट हामीसँग छ र नक्कली बनाउने लाख प्रयत्न गर्दा पनि उहाँहरुले सकिरहनुभएको छैन ।

अहिले एसएलसीको नाम परिवर्तन भएर एसईई भएको छ । अब कसैले एसईईको जमानामा एसएलसी नाम भएको सर्टिफिकेट नक्कली भन्दा नयाँ पुस्तालाई हो कि क्या हो भन्ने लाग्छ । उहाँको नक्कलीको कुरा यही नामको कारण आएको हो । उहाँको एसएलसीको सर्टिफिकेटमा प्रवेशिका वा सोसरह भन्ने शब्द लेखिएको छ ।

श्रीमान् पराजुलीले उमेर सच्याउनका लागि दुईवटा नागरिकता बनाएको भन्ने आरोप पनि छ नि ?

दुईवटा बनाएको सत्य हो । एउटामा उमेरको पहिचान प्रष्ट हुन सकेको थिएन । दोस्रोपल्ट उमेर स्पष्ट बनाउन प्रतिलिपि बनाएको हो । हामीमध्ये धेरैले एउटा नागरिकता हराएर वा उमेर स्पष्ट नभएका कारण नेपालको कानुनले दिएको अधिकार प्रयोग गर्दै दोस्रोपल्ट प्रतिलिपि लिएका छौं । यति सामान्य कुरा पनि हामी बुझ्ने प्रयास गर्दैनौं, योभन्दा आश्चर्यको विषय के हुन सक्छ ?

तर, सर्वोच्चको न्यायाधीश हुनका लागि उमेर कम बनाउन दोस्रो प्रतिलिपि लिएको चर्चा छ, यसमा के भन्नुहुन्छ ?

प्रवेशिका परीक्षाको फोटो खिचेर तपाईंको पत्रिकामा छापिदिनुहोस् । यही एउटा सर्टिफिकेटले उमेर र सर्टिफिकेटको समस्या समाधान गर्छ । केही पत्रिकामा पुरानो नागरिकताको तस्वीर छापिने गरेको छ । अनि एकपल्ट फेल भएको सर्टिफिकेटको तस्वीर छापिने गरेको छ । तर, ओरिजिनल नागरिकता र सर्टिफिकेटमा भएको जन्ममितिको आधारमा सच्याएको हो भन्ने कुराचाहिँ सधैं लुकाइन्छ । यो भन्दा धुत्र्याइँ अरु के हुन सक्छ ?

अनि आफूलाई अनुकूल हुने गरी सर्टिफिकेटका आधारमा जन्म मिति सच्याउन पाइन्छ त ?

अलि पुराना मानिसलाई थाहा छ, ०४८ सालअघिसम्म नागरिकता बनाउँदा जन्ममिति लेख्ने चलन थिएन, उमेरमात्रै ‘यति वर्ष’ भनेर लेखिन्थ्यो । यसले धेरैलाई, न्यायाधीशदेखि राष्ट्रसेवक कर्मचारीहरुलाई समेत समस्यामा पार्‍यो ।

यही अप्ठ्यारो हटाउन नियम बनाइयो । र, यही नियमका आधारमा उहाँले पनि यथार्थ जन्ममिति राख्नुभएको हो । उहाँको जन्ममिति २० वर्षदेखि प्रकाशित सर्वोच्च र वारका पत्रिकाहरुमा उपलब्ध छन् । नागरिकताकै आधारमा ती राखिएका हुन् । यसको पनि फोटो खिच्न सक्नुहुन्छ । कम्तीमा हेरेर जानुहोला ।

भनेपछि, श्रीमान गोपाल पराजुलीमाथि लगाइएका कुनै पनि आरोप सत्य होइनन् भन्ने तपाईको दाबी हो ?

म पनि पढेलेखेकी महिला हुँ । उहाँ गलत हुनुहुन्छ भन्ने जान्दाजान्दै म किन उहाँको पक्षमा लाग्छु ? म उहाँको घर बनाउन यो घरमा आएकी हुँ । सक्षम महिला हुँ । जुन दिन मलाई उहाँमाथि लगाइएका आरोपहरुमध्ये एउटा पनि सत्य हुन् भन्ने लाग्छ, म डा. केसीको पक्षमा गएर उभिन्छु ।

तर, जसरी डा. केसी हामीलाई औंला ठड्याएर भष्ट्राचारी जस्ता शब्दहरु प्रयोग गरिरहनुभएको छ, उहाँलाई थाहै छैन, उहाँ के भनिरहनुभएको छ ।

डा. केसी गलत छन् भन्ने तपाईको भनाइ हो ?

उहाँ सबैले मानेको मान्छे, उहाँको पक्षमा ठूलो माहौल छ । तर, मलाई लाग्छ, कसैले उहाँको इमान्दार व्यक्तित्वलाई कमजोर बनाउन यस्ता कुरा उठाउन हौस्याइरहेको छ । चार श्रीमती, दुई नागरिकता, नक्कली सर्टिफिकेट र भष्ट्राचारका विषय गरी उहाँले हामीलाई चारवटा आरोप लगाउनुभएको छ । यी सबै गलत छन् भन्ने कुरा तपाईं आफैंले पनि हेर्न सक्नुहुन्छ ।

यसअघि न्यायपरिषददेखि धेरै निकायमा ठूलो खोजबिन नभएको होइन, तर उहाँ जहिल्यै ती सबैबाट पर देखिनुभएको छ । यस्तोमा डा. केसीको काँधमा राखेर केही मिडियाका मालिक, केही न्यायकर्मी र केही अपराध लुकाउन चाहने व्यक्तिले बन्दुक चलाएको स्पष्ट बुझ्न सकिन्छ ।

म डा. केसीसँग भेट्न चाहन्छु र प्रश्न गर्न चाहन्छु । यदि श्रीमान पराजुली भ्रष्ट हुन् भने म पनि माइतीघर मण्डलामा जान्छु र उनको छेऊमा उभिएर श्रीमान पराजुलीविरुद्ध नारा लगाउँछु । म मात्रै होइन, मेरा छोराले पनि त्यहाँ पुगेर नारा लगाउने छन् । किनभने हाम्रो संस्कार भष्ट्राचारलाई साथ दिने होइन, विरोध गर्ने हो ।

तर, प्रमाणित गर्नुपर्छ, आरोप मात्रै लगाएर पदमा हुने मानिस सबै भ्रष्ट हुन्छन् भन्ने सन्देश दिन पाइँदैन । सक्नुहुन्छ भने मलाई एकपल्ट उहाँसँग सार्वजनिक स्थानमा भेट्ने वातावरण मिलाइदिनु होला ।

तर, यी कुनै आरोपहरु सत्य होइनन् भने मानिसहरु एकोहोरो किन गोपाल पराजुलीको विपक्षमा लागिरहेका छन् त ?

यो निकै गम्भीर कुरा सोध्नुभयो । यसको उत्तर पनि गम्भीर छ । तपाईं आफैं चर्चित लेखक हुनुहुन्छ, गम्भीर भएर सोच्नुहोला, किन यो देशमा माथिल्लो पदका मानिस सबै भ्रष्ट छन् र नेता, कर्मचारी, पत्रकार, न्यायाधीश सबै बिक्री हुन्छन् भन्ने हल्ला किन चलाइन्छन् ? एकपल्ट गम्भीर चिन्तन गर्नुहोस्, पक्कै उत्तर फेला पार्नुहुन्छ ।

तर, यो तपाईको अन्तरवार्ता हो, तपाईंले नै उत्तर दिने हो कि ?

खासमा अहिलेको यो समाज अपराधलाई सामान्यीकरण गर्न चाहन्छ । अपराध हरेकले गर्छन्, न्यायाधीश, प्रहरी, नेता कर्मचारी सबै भ्रष्ट छन् भनेपछि अपराध गर्नु सामान्य कुरा हो भन्ने समाजमा पर्छ । यसो गर्दा अपराधीहरु शिर ठाडो पारेर हिँड्छन् । मानिसलाई अपराध गर्न सजिलो हुन्छ । यही मनोविज्ञान हुर्काउन यस्ता मिडियाबाजी गरिन्छन् ।

श्रीमान् गोपाल पराजुलीमाथि आरोप-प्रत्यारोप चलिरहँदा तपाईंका नजिकका आफन्तजन र तपाईंका छोराछोरीले तपाईंलाई के भन्छन् ?

मेरा नजिकका आफन्तलाई मेरो र श्रीमानका विषयमा सबै कुरा थाहा छ । तर, मेरा छोराछोरीलाई यो घटनाले गम्भीर आघात पुगेको छ । कतिसम्म भने जेठो छोरा रुपेशकी आमा फरक हुन् भन्ने मेरा अर्का छोरा र कान्छी छोरीलाई थाहा थिएन । हामीले ठूलोबाबुमा मानसिक आघात पर्छ भनेर धेरै नै सोचेर व्यवहार गरेका थियौं । उनी ठूलो भएकाले सबै घटनाका जानकार थिए । तर, पछि जन्मिएका एक छोरा र एक छोरीलाई हामीले बुवाका विगत र दुर्घटनाका बारेमा केही पनि भनेका थिएनौं ।

छोरो ठूलो हुँदै गएपछि केही शंका त गर्थे, तर उनले कुनै पनि कुरा हामीसँग भनेका थिएनन् । एकैपल्ट पत्रिकामा चारवटी विवाह गरेको, नागरिकता दुईवटा बनाएको, अकूत सम्पत्ती कमाएको, उमेर सच्याएर प्रधानन्याधीश बनेको जस्ता कुराले उनीहरुको वाल मस्तिष्कमा ठूलो आघात पुग्यो ।

छोराछोरीको विद्यालयमा उनीहरुलाई हाँसोमा उडाउने काम भएछ । छोराले जसोतसो आफ्ना कुरा राखे तर सानी छोरी अहिले पनि मानसिक तनावमै छिन् ।

अरु कुराको क्षतिपूर्ति होला, तर यिनीहरुमा परेको आघातको क्षतिपूर्ति कसले दिन्छ ? भष्ट्राचार गरेको भए भष्ट्राचारीका छोरा-छोरी भन्दा सहन सकिन्थ्यो होला ।

भोलि समस्या नपरोस् भनेर म आफैं श्रीमान् प्रधानन्यायाधीश हुँदाहुँदै पनि जागिर खान जान्छु । यस्तो बेलामा यस्ता अपमानित शब्द भन्दा एउटी आमालाई कति आघात पर्छ, सोचेका छन्, ती व्यक्तिहरुले ?

अन्तिममा एउटा प्रश्नको उत्तर नढाँटी भनिदिनुहोला, है त ?

अहिलेसम्म बोलेको कुनै पनि कुरामा मैले ढाँटेकी छैन । परीक्षण गर्न सक्नुहुन्छ । तैपनि सोध्नुहोस् ।

श्रीमानसँग फलानो मुद्दाको कुरा मिलाइदनुपर्‍यो भनेर यो १९ वर्षको अवधिमा तपाईं भा’ठौं कोही आएनन् ?

एक-दुई पटक आए । एकपल्ट हामी पोखरामा थियौं । न्यायपालिकाले उपलब्ध गराएको क्वार्टरमा बस्थ्यौं । एउटी घाँस काट्ने महिला हाम्रो क्वार्टर वरपर आएर सफा गर्थिन् । उनी त्यसरी खटेको देख्दा मलाई माया लाग्थ्यो र केही खानेकुरा दिन्थेँ । एकदिन उनले नै एउटा मुद्दाका लागि श्रीमानलाई भनिदिनुपर्‍यो । त्यसका लागि ५ लाख रुपैयाँ दिने भएका छन्, तर त्यो पैसा दिएको श्रीमानलाई थाहा नदिनूहोला भनिन् ।

म त्योबेला विवाह गरेर आएको केही महिना मात्रै भएको थियो । भर्खरै पोखरामा कलेज पढाउन थालेकी थिएँ । मलाई यसरी आएको प्रस्ताव अनौठो लाग्यो । मैले उनलाई भनेँ, ‘हेर बैनी, त्यसरी पैसा कमाउने भए म किन दुःख गरेर कलेजमा चक घोट्न जान्थेँ ? त्यही गर्नु नपरोस् भनेर नै म कलेज पढाउन गएकी हुँ । आजदेखि यस्तो कुरा नल्याउ है ।’ उनलाई मैले राम्ररी नै सम्झाएकी थिएँ । तर, त्यस दिनदेखि ती महिला अचानक घाँस काट्न आउन छाडिन् ।

यसरी आएको प्रस्ताव अस्वीकार गर्नुभयो भनेर कसरी पत्याउने ?

यो एउटा संस्कार हो । यसमा मलाई गौरव लाग्छ । सानामा कतै पूजा-पाठ हुँदा कन्ने केटी भनेर मलाई टीका लगाएर दुई रुपैयाँ दिनुहुन्थ्यो । म त्यो पैसा त्यही पीर्कामुनि छाडेर आउँथे । किनभने त्यसरी सित्तैमा केही नगरी पैसा लिन त्यो बेलादेखि नै मलाई नराम्रो लाग्दथ्यो ।

पढेलेखेपछि त झन् बुझ्ने भएँ । जब मानिस लोभ र डरबाट मुक्त हुन्छ, तबमात्रै जीवनको सौन्दर्य बुझ्न थाल्छ । धेरैले यो कुरा बुझेका छैनन् र दुःख पाएका छन् ।

यो सामग्री अनलाईन खबर बाट साभार गरिएको हो !

  • बुधबार, माघ १०, २०७४ मा प्रकाशित