मानिसको जीवन आफैमा एउटा यात्रा हो । शरीर रुपी गाडीमा चढेर हाम्रो मनको यात्रा जारी छ, जुन यात्रा प्राण रहेसम्म जारी रहन्छ । दैनिक जीवनका यात्राका लागि भने मानिस बयलगाडा, साइकल, कार, बस, बाइक, बुलेट ट्रेन हुँदै रकेटसम्म आइपुगेको छ । पपस्टार धिरज राई भने बाइकका सौखिन् हुन् । हालसम्म उनले चारवटा बाइक फेरीसकेका छन् । उनीसँग ‘आइटेन कार’ पनि छ । काठमाडौको ट्राफीक जामको ख्याल गर्दै उनी कहिले कार त कहिले बाइकमा हिँडछन् । हरेक मानिसका आ–आफ्नै सवारी अनुभव हुन्छन् । धिरज राइको सवारी अनुभव सुनौं, उनकै शब्दमा:

सानोमा मेरो बसाई बागबजारमा थियो । स्कुल जानुपथ्र्यो महाराजगञ्ज । म प्राय: साझा बस चढेर स्कुल जान्थेँ । त्यतिवेला भाडा १ रुपैंया थियो । विक्रम टेम्पु पनि पाइन्थ्यो । त्यसको भाडा महंगो भएकाले म प्राय: साझा बस नै चढथेँ ।

कक्षा पाँचमा पुगेपछि बुबाले साइकल किन्दिनु भयो । अब भने म प्राय: साइकलमै हिँडेर स्कुल जान थालेँ । साइकलमा यात्रा गर्दा निकै रमाइलो लाग्थ्यो ।

स्कुल पढ्दाताका भाडा नतिरी हिँडेका थुप्रै घटना छन् । मलाई स्वीमिङ गर्न निकै मज्जा आउँथ्यो । स्वीमिङका लागि शुक्रवार वालाजु पार्क जाने चलन थियो । शुक्रवार विद्यार्थी छुटमा १० रुपैंयामा स्वीमिङ गर्न पाइन्थ्यो । घरवाट त्यस्तै १२/१३ रुपैंया दिनुहुन्थ्यो । हामी रानीपोखरीसम्म हिँडेर पुग्थ्यौ र त्यहवाट बालाजु जाने गाडी चढ्थ्यौ ।

गाडी चढिसकेपछि कतिखेर खलाँसी (चालक दलका सदस्य)ले थाहा नपाउनेगरी झरौं भन्ने ध्याउन्न हुन्थ्यो । स्वीमिङ गर्दा एकदम धेरै भोक लाग्थ्यो । भाडा दिने पैसाले खाजा खाने ध्याउन्न हुन्थ्यो । बालाजु आसपास पुगेपछि हामी गाडी रोकिएको बेला फुत्त झरेर भागीहाल्थ्यौं । त्यसरी भाग्दा कति पटक खलासीले हाम्रो कान निमोठेका छन् । कतिपटक उठबस गर्न लगाएका छन् । कतिपटक त कुखुरोसमेत बनाएका छन् ।

अहिले मसँग आइटेन गाडी र बाइक छ । भविष्यमा नयाँ गाडी चढने योजना छैन । शायद यही गाडी चढ्छु होला । १८ लाखमा किनेको आइटेन गाडी मलाई राम्रै लागेको छ । कलाकारको रुपमा पनि सुहाउँदो छ । स–परिवार हिँडन पनि मिल्छ । धनगढीसम्म आफैंले ड्राइभ गरेर गएको छु । बाटोमा सजिलै भयो ।

मलाई यात्रामा आनन्द चाहिं बाइक नै लाग्छ । काठमाडौंमा जाम अत्याधिक हुने भएकाले पनि पहिलो रोजाई बाइक नै हुने गरेको छ । विनायक तामाङ भन्ने मेरा एकजना साथी थिए । मलाई उनैले बाइक चलाउन सिकाएका हुन् । तर, खासै गार्‍हो भएन ।

म प्राय: बिहान नौ बजे र बेलुका पाँच बजे गाडी निकाल्दै निकाल्दिन । बाइकमा जानु छ भने जामका लागि भनेर १० मिनेट छुट्याउँछु । गाडीमै जानु छ भने ४५ मिनेट जामका लागि छुट्याउनैपर्छ । यो जाम हटाउन सबैभन्दा पहिला त सार्वजनिक गाडीलाई काँटछाँट गर्नुपर्छ । जोर बिजोर प्रणाली पनि उपयुक्त हुनसक्छ ।

म अहिलेसम्म दुर्घटनामा परेको छैन । तर, मेरो गाडीमा धेरैले पछाडीवाट टुच्च ठक्कर दिएका छन् । कोरिएको पनि छ । म स्लो ड्राइभ गर्ने भएकाले दुर्घटनामा परेको छैन । कतिसम्म भने मेरो स्लो ड्राइभ देखेर कहिलेकाँही मेरी श्रीमति ‘हिँडेरै जान्छु’ भनेर घुक्र्याउछिन् ।

म गाडीको निकै राम्रो ख्याल गर्छु । त्यसकारण त्यति धेरै बिग्रदैन । एक पटक भकुण्डेबेसीमा रातीको समयमा गाडी बिग्रियो स्र्टाटै भएन । ट्याक्सि चढेर घर र भोलीपल्ट गाडी ल्याएँ । मलाई पार्टपुर्जाको वारेमा खास ज्ञान छैन । वर्कसपमा एकजना भाइ चिनेको छु । केही पर्‍यो भने उनैलाई बोलाउछु । एकपटक मर्मतका क्रममा ३५ हजार रुपैयाँजति खर्च गरेँ । सबैभन्दा धेरै खर्च त्यहि नै थियो । मैले लाइसन्स लिँदा अहिलेजस्तो गार्‍हो थिएन । मज्जाले ट्रायल पास गरेर लिएको हुँ ।

महिनामा ८ हजार रुपैयाँ जति इन्धनमा खर्च हुन्छ । गाडी पाल्नु र हात्ती पाल्नु उस्तै उस्तै हो, त्यसकारण राम्रै केयर गर्ने गरेको छु । आजसम्म मैले कसैलाई लिफ्ट दिएको छैन । म कहिल्यै रक्सि पिउँदिन त्यसकारण मापसेमा परेको छैन । एक पटक न्युरोडमा ब्लु बुक चेक गर्दा गोजीमा छुटेछ । ट्राफिकलाई आग्रह गरेँ । ‘ठिकै छ’ भनेर छोडिदिए । ट्राफिकको कारर्वाही नै भोग्नुपर्ने गरि ठुलो गल्ती गरेको छैन ।

काठमाडौ बाहिर वा विदेश जाँदा एअरपोर्टसम्म जाँदा ट्याक्सि प्रयोग गर्छु । ट्यक्सिवालाले मज्जाले चिन्छन्, गफ हुन्छ । कतिपयले ‘तपाइले भाडा नदिएपनि हुन्छ’ भन्छन् कतिले धेरै लिन खोज्छन् । मेरो घरवाट एअरपोर्टसम्म मिटरमा जाँदा २५० रुपैयाँसम्म उठ्छ । म प्राय ३०० रुपैंया भाडा दिन्छु ।

अनलाईन खबर बाट

  • बिहिबार, माघ २५, २०७४ मा प्रकाशित