८ भदौ, काठमाडौं 

नेपाल आइडलमा झलकमान गन्धर्वको कालजयी गीत ‘बाबाले सोध्लान् नी खोइ छोरा भन्लान्…’ गाएर सुरज थापाले तहल्का मच्चाए । इन्दिरा जोशीको शब्दमा भन्दा स्टेजमा आगो लगाए !

सुरजले लगाएको आगोको राप अझै बाँकी नै होला । तर, उनी स्वयम् भने नेपाल आइडलबाट आउट भइसकेका छन् । टप ५ मा उक्लिनका लागि उनले दर्शकको पर्याप्त भोट पाएनन् ।

टप ६ बाट आउट भएपछि हामी उनलाई भेट्न बनस्थली पुग्यौं, जहाँ उनको साथीको घर रहेछ । झलकमानको गीतको प्रसंगबाटै कुराकानी सुरु भयो ।

‘यो गीत छनोट गर्न मलाई कम्ति दोधार परेको थिएन,’ सुरजले भने, ‘मैले एक प्रकारले रिस्क मोलेको थिएँ ।’

उक्त एपिसोड लोकगीत विशेष थियो । क्लासिकल गीतमा अब्बल सुरज आफूलाई लोकगीतमा त्यति स्वीटेबल ठान्दैनन् । त्यसैले उनलाई त्यो एपिसोड चुनौतिपूर्ण लागेको थियो । तर, अन्ततः त्यही एपिसोडमा उनले धमाका गरे ।

लोकगीत राउन्डमा कुन गीत गाउने भनेर उनी निकै असमञ्जसमा परेका थिए । इन्डियन आर्मीका जागिरे आफ्ना बुवाले घरमा गुन्गुनाउने गरेको गीत उनले सम्झिए, बाबाले सोध्लान् नि ।’

तर, यो कठिन थियो, किनकी झलकमानको युनिक आवाजमा सजिएको गीतलाई न्याय गर्न गाह्रो थियो ।

‘अभ्यास गर्ने बेलासम्म पनि मलाई यो गीत गाउने कि नगाउने भन्ने द्विविधा नै थियो, तर गुरुले यही गीतमा जोड गर्नुभयो,’ सुरज भन्छन् ।

जब दौरा-सुरुवाल, ढाका टोपी र हातमा सारंगी बोकेर सुरजले गाए, नेपाल आइडलमा अहिलेसम्म नदेखिएको माहौल देखियो । निर्णायकको कुर्सीमा बसेकी इन्दिरा जोशी त धरधरी रोइन् । लगत्तै उक्त गीतको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो ।

सुरजका अनुसार नेपाल आइडलमा उनले सबैभन्दा बढी अभ्यास गरेको गीत यही हो । आफ्नो मौलिक स्वरलाई थोरै परिमार्जन गरेर उनले झलकमानको स्वरमा ढालेका थिए ।

‘खासमा मैले उधुम राम्रो गाएको जस्तो लागेको थिएन । तर, जब सबै निर्णायकहरुको वाहवाही पाएँ, अनि जब सामाजिक सञ्जालमा मेरो गीत भाइरल बन्यो, त्यसपछि त मलाई चमत्कारै गरेको जस्तो महसुस भयो,’ उनले भने ।

दैलेखको एउटा सामान्य परिवारमा जन्मेका हुन् सुरज । उनका बुवा भारतीय आर्मीमा थिए । सुरज सानै छँदा बुवाले परिवारलाई आफूसँगै दिल्ली लगेका थिए । सुरजको प्रारम्भिक पढाई दिल्लीमा नै भयो । बुवा रिटायर्ड भएपछि परिवारसहित नेपाल आए । अनि, दैलेखबाट नेपालगञ्ज बसाइँ सरे ।

सुरजले गीत संगीत सानैदेखि सुन्थे । बुवाले इन्डियाबाट ल्याएको क्यासेट हरदम उनीसँगै हुन्थ्यो । उनी राति पनि त्यही क्यासेट अंगालो हालेर सुत्थे ।

बुवा-आमाका माइलो छोरा सुरज सानैदेखि घरका काम सबै गर्थे । खाना पकाउने, भाँडा माझ्ने, घर लिपपोत गर्ने, गोबर सोहोर्ने, भैंसी चराउने, घाँस काट्ने, धान रोप्नेदेखि लिएर उनले नगरेका काम कमै छन् । तर, जुनसुकै काम गर्दा उनलाई क्यासेट घन्काउनै पर्थ्यो र गीत गुनगुनाउनै पर्थ्यो ।

‘म रेडियो सुनेर हरदम गीत गुनगुनाइरहेको हुन्थेँ,’ सुरज भन्छन्, ‘तर, मलाई आफ्नो स्वर कस्तो छ भन्ने चाहिँ थाहा थिएन ।’

एक दिन स्कुलमा शिक्षकले सबैलाई उठाएर पालैपालो गीत गाउन लगाएका थिए । उनले ‘मैना ओ मैना’ बोलको गीत गाएर सुनाए । उनको स्वरले शिक्षक अचम्मित बने ।

‘तिम्रो यति मिठो स्वर रहेछ, ठूलो भएपछि ठूलो गायक बन्नुपर्छ,’ शिक्षकले यसै भनेका थिए । र, त्यतिबेलैदेखि उनको मनमा ठूलो गायक बन्ने महत्वाकांक्षा सवार भयो ।

साथीको लुगा लगाएर स्टेजमा

आफूमा गाउने क्षमता रहेको थाहा पाएपछि सुरज जहाँसुकै गाउने मौका खोज्दै हिँड्न थाले । यही बिचमा उनको गाउँमा ठूलो कन्सर्ट आयोजना भएको थियो, जहाँ राष्ट्रियस्तरका कलाकारहरु आएका थिए । बाल्यकालदेखिका साथी प्रवेश शाहले उनलाई उक्त कन्सर्टमा गाउन प्रेरित गरे । नाम पनि उनैले लेखाइदिए ।

कन्सर्टमा भाग लिन सुरज साथीसहित आए । उनले थोत्रा कपडा लगाएका थिए भने खुट्टामा चप्पल थियो ।

‘मसँग अर्को जोडी कपडा पनि थिएन र जुत्ता पनि थिएन,’ सुरज भन्छन् ।

आफ्नो कपडाकै कारणले उनलाई स्टेजमा उक्लिन आँट आएन । त्यति ठूला-ठूला कलाकारहरु भएको ठाउँमा कसरी त्यो रुपमा जाने ?

उनका साथीले सुरजको मर्म बुझे । उनी सुकिलामुकिला थिए र फेन्सी लुगा लगाउँथे । उनले सुरजलाई भने ‘तेरो र मेरो लुगा साटौं ।’

उनीहरुले बाथरुममा गएर एक-अर्काको लुगा साटासाट गरे । उनको चप्पल साथीले लगायो र उनले साथीको जुत्ता लगाए । गतिलो लुगा र जुत्ता लगाउँदा उनी पनि खत्रै देखिए । त्यसपछि बल्ल स्टेजमा उक्लिने आत्मविश्वास बढ्यो ।

आमाको साथ

सुरजकी आमाको पनि संगीतमा गहिरो अभिरुची थियो । उनी प्राय लोकगीतहरु गुन्गुनाउँथिन् । गायक बन्ने छोराको सपनामा उनको पनि समर्थन थियो । तर, बुवाले भने सुरजलाई आफूजस्तै इन्डियन आर्मी बनाउन चाहन्थे । नेपाल आइडलमा भाग लिनु अगाडिसम्म पनि उनी छोरालाई इन्डियन आर्मीमा भर्ति हुन दवाव दिइरहेका थिए ।

अब त मेरो उमेर कटिसक्यो भन्दा बुवाले भन्थे, ‘तँ भर्ति हुन्छु मात्रै भन् न, उमेर म मिलाउँछु ।’

तर सुरजले जसरी पनि गायक बनिछाड्ने अठोट गरिसकेका थिए । एसएलसी पास भएपछि आफ्नो सपनालाई मुर्तरुप दिने उद्देश्यका साथ एक दिन बुवालाई थाहा नदिइकन काठमाडौं आए । आमाले लुकाएर ४ हजार रुपैयाँ हातमा राखिदिएकी थिइन् ।

‘जसरी भए पनि गायक बन्नू बाबु,’ आमाले आशिर्वाद दिँदै भनेकी थिइन्, ‘टिभीमा तैंले गीत गाएको हेर्न पाऊँ ।’

काठमाडौंमा संघर्ष

काठमाडौं आएर उनी आरआर कलेजमा भर्ना भए, म्युजिक विषयमा । त्यसपछि काठमाडौंमा टिक्नका लागि उनलाई जागिर नभई भएन । अनि उनी जागिरको खोजीमा भौंतारिन थाले ।

‘आफ्नो मान्छे ठाउँमा थिएन कोही, त्यसैले जागिर पाउन सजिलो भएन,’ सुरज भन्छन् ।

उनले बल्लतल्ल एउटा मार्केटिङको काम पाए । सेम्पु, साबुन, पर्फ्युम जस्ता बस्तुहरु झोलाभरी बोकेर घर-घरमा डुल्दै बिक्री गर्नुपर्ने ।

उनी बिहान कलेज जान्थे । १० बजेपछि खाना खाएर झोला बोकी सडकमा निस्किन्थे । घर-घरमा पुगेर ढोका ढक्ढक्याउँथे । तर, सामान बेच्न सक्दैनथे । बेलुकी दिक्दार भएर घर फर्किन्थे ।

‘मेरो बोल्ने कला पटक्कै थिएन, त्यसैले मैले सामान बेच्नै सकिनँ,’ उनी भन्छन् ।

त्यतिबेला उनको तलब सात सय तोकिएको थियो र १० प्रतिशत कमिसन दिने भनिएको थियो । जबकि त्यतिबेला एक सिलिन्डर ग्यासकै ५ सय रुपैयाँ पर्थ्यो । अन्ततः करिब सात महिना गरेर उनले त्यो काम छोडिदिए ।

त्यसपछि फेरि काम खोज्ने क्रम सुरु भयो । उनले सेल्सम्यानको काम भेटाए । चिजबल, चाउचाउदेखि लिएर विभिन्न सामग्रीहरु रिक्सामा बोकेर पसल-पसलमा बेच्दै हिँड्नुपर्ने हुन्थ्यो ।

‘सामान यतिधेरै हुन्थ्यो कि उकालो बाटोमा रिक्सा उनार हुन्थ्यो,’ सुरज सम्भिmन्छन्, ‘कहिले पानीले भिजाएर निथ्रुक्क बनाउँथ्यो ।’

त्यसपछि त्यो पनि छोडेर एउटा कपडा पसलमा काम गर्न थाले । भुईं पुछ्ने, शीशा पुछ्ने आदि गर्नुपर्थ्यो । यो काम चाहिँ उनलाई अलि सहज लाग्यो । तलब हजार रुपैयाँ थियो ।

कपडा पसलमा काम गर्दा उनी बिहान कलेज जान्थे, दिनभरी पसलमा बस्थे, र राति रियाज गर्थे । यही बीचमा उनले एचबीसी एफएमको गायन प्रतियोगितामा भाग लिए । फोनबाट गीत सुनाउनु पर्थ्यो । उक्त प्रतियोगितामा प्रथम भएर उनले पुतलीसडकको एउटा इन्स्िटच्युटमा संगीत सिक्नका लागि एक वर्षको स्कलरसिप पाए । र, उनी त्यहाँ संगीत सिक्न थाले ।

तर कपडा पसलमा काम गरेर निस्कँदा उनी इन्स्िटच्यूटमा सधैं ढिला पुग्थे र गुरु निस्किने बेला भइसकेको हुन्थ्यो । उनी ९-१० बजेसम्म एक्लै हार्मोनियम बजाएर बस्थे । त्यही इन्स्िटच्यूटको अर्को कोठामा चाहिँ गिटार बजाइरहेका हुन्थे, मनिष झा । उनीहरु दुवैमा मित्रता भयो । सुरजको प्रतिभाबाट मनिष निकै प्रभावित बने । त्यसउप्रान्त आजसम्म पनि मनिषले हरेक कदममा सुरजलाई साथ दिएका छन् ।

मनिष भन्छन्, ‘मलाई उहाँको गायन र सादगीपनले साह्रै आकर्षित गर्‍यो । मैले कयौं महिनासम्म उहाँलाई एउटै सर्टमा देखेँ ।’

सुरज सधैं एउटै सर्ट पाइन्ट लगाउँथे तर त्यो कहिल्यै मैलो हुँदैनथ्यो । एक दिन मनिषले सोधे, ‘सँधै लगाउने लुगा कसरी यति सुकिलो हुन्छ ?’

सुरजले जवाफ दिए, ‘म हरेक राति घर फर्केपछि सर्ट धोएर सुकाउँछु र बिहान लगाएर हिँड्छु ।’

सुरजको आर्थिक स्थिति राम्रो नभएको थाहा पाएर मनिषले उनलाई सहयोग गर्न खोज्थे, तर सुरज मान्दैनथे ।

भाइ पनि पढाइका लागि काठमाडौं आएपछि सुरजले बागबजारमा एउटा कोठा भाडामा लिए । टिनले छाएको कोठामा चिसो मौसममा तपतप पानी चुहिन्थ्यो । भाडा ११ सय थियो । महिनैपिच्छे भाडा तिर्न उनको दाँतबाट पसिना निस्किन्थ्यो ।

उनलाई म्युजिक सिकाउने गुरु लाक्पा शेर्पाले एक दिन भने, ‘हार्मोनियम बजाउने काम लगाइदिन्छु, गर्छौं ?’

‘तर मलाई त राम्ररी बजाउन आउँदैन,’ सुरज अन्कनाए ।

‘जस्तो आउँछ त्यस्तै बजाउ, तर निकै पारंगत भएजस्तो अभिनय गर । अनुहारमा स्माइल राख । गायकलाई हेर्दै झुम्दै बजाउ । त्यसपछि सबैले ठान्ने छन् कि तिमीले राम्ररी बजाइरहेका छौ । बिस्तारै बिस्तारै सिकिहाल्छौ,’ गुरुले सुझाए ।

सुरजले पनि त्यसै गरे । औंला जतासुकै घुमे पनि अनुहारमा मुस्कान ल्याउँदै झुम्दै हार्मोनियम बजाए । बिस्तारै-बिस्तारै राम्रो बजाउन सक्ने भए । ६-७ महिनापछि उनको तलब तोकियो । उनले मासिक ४ हजार रुपैयाँ पाउने भए । यो उनका निम्ति भयंकर थियो ।

केही समयमा उनले गाउनसमेत सुरु गरे । त्यतिबेला स्टेजमा राजु गुरुङ, शिव हमाल, रामजी खाँड, ज्योती मगर जस्ता गायक-गायिकाहरुले गाउँथे । जब उनीहरुले छाडे, त्यसपछि सुरजले गाउने मौका पाए । पछि उनी नै लिड सिंगर बने ।

यससँगै उनको आत्मविश्वास बढ्दै गयो । अनि, गजल रेस्टुरेन्टहरुमा काम पाए । काठमाडौंका थुप्रै क्यासिनोहरुमा गाउन थाले । जीवनयापन सहज बन्दै गयो । अलि-अलि पैसा जोगाड पनि गर्न थाले ।

एउटा गिति एल्बम निकाल्ने उनको पहिलेदेखिको धोको थियो । १० वर्षदेखि उनले यसको तयारी गरेका थिए । आफूले जोगाड गरेको केही पैसा र केही ऋणधन गरेर उनले सो धोको पनि पूरा गरे । उनले ‘क्रन्दन’ नामक एल्बम निकाले । तर, एल्बम चलेन । सिडीको जमाना नै हराउन थालिसकेको थियो, चलोस कसरी ।

‘एल्बम र भिडियो गरेर अढाई लाख खर्च गरेँ तर एल्बम नबिकेपछि विभिन्न कार्यक्रमहरुमा जाँदा झोलामा आफ्नो एल्बम बोकेर जान्थेँ र निःशुल्क वितरण गर्थेँ,’ सुरज सम्भिmन्छन् ।

बल्लतल्ल निकालेको एउटा एल्बम पनि ‘फ्लप’ भएपछि सुरज निराश बने । यही बिचमा उनलाई बहराइनमा गएर गीत गाउने अफर आयो । उनी गए र एक वर्ष बसेर फर्किए ।

इन्डियन आइडलदेखि नेपाल आइडलसम्म

सांगीतिक प्रतिस्पर्धा भनेपछि जहाँ पनि हाम्फाल्दै पुग्ने उनको बानी थियो । सबैभन्दा पहिले उनले नेपाल टेलिभिजनमा प्रशारित हुने ‘तिम्रो सुर मेरो गीत’ मा भाग लिए । त्यसपछि नेपाली तारा २, नेपाल स्टार, इमेज च्यानलमा बागिना, मायाको डोरी लगायत कार्यक्रमहरुमा भाग लिए ।

यति मात्र होइन, उनी भारतीय टेलिभिजनमा प्रशारण हुने इन्डियन आइडलमा समेत भाग लिन पुगे । यो ६-७ महिनाको अगाडिको कुरा हो ।

सुरज इन्डियन आइडल नियमित हेर्ने गर्थे । यसमा भाग लिने उनको ठूलो सपना थियो । त्यसो त यस कार्यक्रममा भारतीय नागरिकहरुलाई मात्र सहभागी गराइन्छ । तर बुवाले भारतीय सेनामा नोकरी गरेको र लामो समय भारतमा बसेको आधारमा उनले इन्डियन आइडलमा भाग लिन पाउने रहेछन् ।

त्यसपछि उनले दिल्ली पुगेर अडिसन दिए । पहिलो अडिसनबाट छानिए तर, दोस्रो राउन्डमा फालिए । लगत्तै मुम्बईमा गएर फेरि अडिसन दिए । त्यहाँ तेस्रो राउन्डसम्म पुगेर उनको यात्रा टुंगियो ।

‘भारत गएपछि उतै म्युजिक सिक्ने र संघर्ष गर्ने मानसिकता बनाएको थिएँ । तर, यतिकैमा उनले नेपालमा इन्टरनेसनल प|mेन्चाइजको रुपमा नेपाल आइडल हुँदैछ भन्ने थाहा पाएँ । त्यसपछि केही नसोचि यसमा भाग लिनलाई नेपाल फर्केँ,’ उनले भने ।

नेपाल आइडलको यात्रा

नेपाल आइडलको अडिसनमा सहभागी हुने बेलामा उनको स्वास्थ्य ठीक थिएन । रुघा र खोकीले सताइरहेको थियो । तैपनि उनले अडिसन दिए ।

‘म अडिसनबाट सेलेक्ट हुन्छु जस्तो लागेको थिएन,’ सुरज भन्छन्, ‘तर, जजहरुले मेरो गायकी मन पराउनुभयो ।’

त्यसपछिका हरेक राउन्डमा उनले जजहरुको राम्रो प्रतिक्रिया पाए । टप ६ को प्रतिस्पर्धामा नारायणगोपालको गीत गाउनुपर्ने थियो । उनले ‘गल्ति हजार हुन्छन्’ भन्ने गीत छनोट गरे । तर, यो गीतले उनलाई अघिल्लो चरणमा धकेल्न सकेन ।

टप १८ मा पुगेका प्रतियोगिहरुमा ३० वर्षीय सुरज सबैभन्दा जेठा थिए । उनलाई सबैले दाइ भन्थे र माया गर्थे ।

‘४ महिना क्लोज क्याम्पमा बस्दा हामी एउटा परिवार जसरी बसेका थियौं । छुट्टनिे बेलामा आफ्नै परिवारसँग छुट्टएिको जस्तो अनुभूति भयो,’ सुरजले भने ।

नेपाल आइडलमा भाग लिएपछि आफ्नो सांगितिक यात्राले नयाँ मोड लिएको ठानेका छन् उनले ।

सुरज भन्छन्, ‘नेपाल आइडलमा भाग लिएसँगै मेरा संघर्षका दिनहरु सकिए भनेर म भन्दिनँ । किनभने अहिले कमाएको चर्चा र ख्याति क्षणिक मात्र हुनेछ, यदि मैले संगीत क्षेत्रमा आफूलाई स्थापित गराउन सकिनँ भने । अन्यत्रको उदाहरण हेर्ने हो भने पनि आइडलमा सफलता पाएर पछि गुमनाम बनेका कलाकारहरु थुप्रै छन् । तर, म भने संगीतमा नै आफ्नो भविष्य उधिन्न कटिवद्ध छु । अन्यत्र केही सोचेकै छैन ।’

‘मलाई इन्डियन आर्मी बनाउन खोज्ने मेरा बुवा पनि मैले नेपाल आइडलको टप ६ सम्म पुग्न सफल भएपछि खुशीले गदगद हुनुभएको छ । सबैभन्दा ठूलो उपलब्धि भनेको मलाई माया गर्ने यति धेरै फ्यानहरु पाएको छु । फेसबुकमा अनगिन्ती म्यासेज र कलहरु आउँछ । सबैलाई रिप्लाई गर्न भ्याएको छैन । मलाई थाहा छ, यो चर्चा क्षणिक हो । कुनै पनि रियालिटी शोको केही दिन वा केही महिना असर रहन्छ । त्यसलाई दिगो बनाउन त आफैंले मिहिनेत गर्ने हो । नत्र मान्छेले बिर्सिन्छन्,’ सुरज भन्छन् ।

अरजित सिंहका फ्यान

सुरज भारतीय गायक अरजित सिंहका ठूला फ्यान हुन् । दाह्री र कपाल पालेर उनले आफ्नो हुलिया पनि अरजितको जस्तै बनाएका छन् ।

‘उहाँले पनि मैले जस्तै संघर्ष गर्नुपरेको रहेछ,’ सुरज भन्छन्, ‘उहाँ पनि रियालिटी शोको टप ६ बाट आउट हुनुभएको रहेछ ।’

उनी इन्डियन आइडलमा सहभागी हुँदा नेपाली अरजित सिंहको उपमासमेत पाएका थिए ।

घर बनाउने सपना

‘इन्डियन आर्मीमा भएर पनि बुवाले खासै सम्पत्ति जोड्न सक्नुभएन । कमाएको पैसा परिवारको भरणपोषण र हाम्रो पढाईलेखाईमै सकियो । उहाँले पर्ख्यौली सम्पत्ति केही लिनुभएन । सबै दाजुभाइलाई छोडिदिनुभयो । अहिले हाम्रो एउटा झुप्रोजस्तो घर छ । चार कठ्ठा ऐलानी जग्गा छ । त्यति नै हो । बुवाको पेन्सनबाट घर चलेको छ । आफ्नो सपनाको पछि लागेर मैले अहिलेसम्म परिवारका लागि केही गर्न सकेको छैन । ३० वर्षको भएँ । बिहे पनि गर्नुछ । त्योभन्दा अगाडि एउटा ढंगको घर बनाउनुछ । परिवारलाई झुप्रोबाट निकाल्नुछ,’ सुरजले सुनाए ।

सुरजको आँखामा टप ५ का प्रतिस्पर्धी

नेपाल आइडलको टप ५ मा पुगेका प्रतिस्पर्धीहरुलाई सुरज यसरी मूल्यांकन गर्छन् ः

प्रताप दास

मैले जस्तै धेरै स्ट्रगल गरेको व्यक्ति हो प्रताप । पहिले पनि रियालिटी शोमा भाग लिएको अनुभव उसँग छ । मान्छे धेरै मिहिनेती छ र घमण्ड भन्ने एक पित्को पनि छैन । उ एउटा भर्सटाइल गायक हो । संगीतमा एकदमै फोकस छ उसको । उसले सांगीतिक क्षेत्रमा धेरै ठूलो नाम कमाउनेछ ।

निशान भट्टराई

निशान बच्चैदेखि गुरुसँग संगीत सिकेको मान्छे हो । उसको खारिएको आवाज छ । टोन पनि मिठो छ । जस्तो गीतलाई पनि न्याय गर्न सक्छ । उसले आइडल जित्छ वा जित्दैन म ठोकुवा गर्न सक्दिन, तर उ अहिले नै धेरैको आइडल बनिसक्यो । हामी सबैको फेभरेट हो निशान ।

बुद्ध लामा

बुद्ध निर्दोष र मायालाग्दो छ । झट्ट हेर्दा उसले यति मिठो गाउला जस्तो लाग्दैन । नपत्याउने तरिकाले गाउँछ । सबै खालको गीत गाउने क्षमता छ । नेपाल आइडलमा उ सबैभन्दा कान्छो हो । भविष्यमा मिहिनेत गर्दै गएमा उसले संगीत क्षेत्रमा लामो यात्रा तय गर्नेछ ।

सुजाता पाण्डे

सुजाताको गड गिफ्टेड भ्वाइस छ । प्ले ब्याकको लागि एकदम स्वीटेबल स्वर छ । उनको टोन मलाई मन पर्छ । हंसिलो र सहयोगी स्वभावकी छिन् । उनले बाहिर निस्केपछि मसँग ‘डोयट’ गाउँछु भनेकी छिन् । म पनि इच्छुक छु ।

सागर आले

सागर कमलो मन भएको मान्छे हो । सानो-सानो कुरामा रुने र हाँस्ने गर्छ । आफ्नो इमोसनलाई कन्ट्रोल गर्न सक्दैन । उसको गायकी एकदम खतरा छ । भर्सटाइल छ । लोक, पप, आधुनिक जस्तो पनि गाउन सक्छ । उसको स्वर यति दमदार छ कि माइक नै चाहिँदैन । कोठामा गायो भने कोठै थर्किन्छ । भविष्यमा उ एउटा बिजी र पपुलर सिंगर बन्नेछ ।

अन्तमा सुरजलाई सोधियो, ‘यी पाँच जनामध्ये तपाईंले भोट हाल्नुपर्‍यो भने कसलाई हाल्नुहुन्छ ?’

उनले यो प्रश्नको जवाफ नदिएरै टारे ।

साभार अनलाईन खबर बाट !

  • बिहिबार, भदौ ८, २०७४ मा प्रकाशित