गुल्मी

जिल्लाको मालिका गाउँपालिका–६ अर्जेमा गर्भवती महिलाको घरमा हरियो झण्डा राखिने भएको छ। गर्भवती महिला भएको घरको पहिचानका लागि यस्तो व्यवस्था गर्न लागिएको हो।

वडा कार्यालयले हरियो झण्डा राख्ने व्यवस्था गर्न लागेको अध्यक्ष शोभाखर गिरीले जानकारी गराए। ‘हरियो झण्डा देख्नेवित्तिकै जुनसुकैले गर्भवतीको घर चिन्न सक्नेछन्’,उनले भने,‘ घरमा गएर गर्भवती महिलालाई आवश्यक सल्लाह सुझाव दिन सहज हुनेछ।’

अझै पनि सामाजिक चेतनाको अभावले घरमै सुत्केरी हुने, आमा र बच्चाको ज्यान समेत जोखिममा पर्ने भएकाले यस्तो अभियान थालिएको गिरीले जानकारी गराए। स्वास्थ्य संस्थामा सुत्केरी हुँदा राज्यले दिएका सेवा सुविधा प्राप्त हुनुका साथै जोखिमबाट बच्न सकिने गिरीले बताए।

उक्त अभियानलाई प्रभावकारी बनाउन विद्यालय, महिला स्वास्थ्य स्वयमसेविका, आमा समूहलगायत स्वास्थ्य समूहलाई सचेतना कक्षा संचालन गरिने वडा कार्यालयले जनाएको छ। कार्यालयका अनुसार वर्थिङ सेन्टरबाट टाढा रहेका र विपन्न गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्सको सुविधा उपलब्ध गराइने भएको छ।

हरियो झण्डा अभियानले गर्भवती महिलाले खुलेर आफ्ना समस्या स्वास्थ्यकर्मीसँग राख्न सक्ने वडा सचिव गोकर्ण पराजुली बताउँछन्। ‘गर्भवती महिला धेरै लजाउनुहुन्छ’,उनले भने,‘यस अभियानले लाज हटाएर समस्या खोल्न सहयोग गर्नेछ।’

पराजुलीले अभियान प्रभावकारी बनाई घरमा सुत्केरीमुक्त वडा घोषणा गरिने योजना रहेको समेत जानकारी दिए। ‘स्वास्थ्यसंस्था वा वर्थिङ सेन्टरमै सुत्केरी गराउने अभियान हो’,पराजुलीले भने,‘घरमा सुत्केरी वडामुक्त घोषणा गर्ने योजना छ।’ उनका अनुसार सबै गर्भवती महिला स्वास्थ्य संस्थामै पुगेर सुत्केरी भएको तथ्यांकको अधारमा वडा घोषणा गरिने समेत बताए।

गाउँपालिकाका प्रवक्ता समेत रहेका वडाअध्यक्ष गिरीले हाल यस अभियान आफ्नै वडाबाट सुरु भएको र आगामी दिनमा सबै वडामा पुर्‍याउने योजना रहेको जानकारी दिए। उनले स्वास्थ्य संस्थामा बच्चा जन्माए राज्यले उपलब्ध गराउँदै आएको एक हजार चार सय रुपैयाँ र न्यानो झोलावापत एक हजारसहित गाउँपालिकाले सुत्केरी पोषण भत्तावापत एक हजार दिने भएकाले सबै गर्भवती महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी हुन समेत आग्रह गरे।

  • शुक्रबार, माघ १९, २०७४ मा प्रकाशित