काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले संसदीय निर्वाचन क्षेत्र संख्या २४० राख्ने कांग्रेस र एमालेको प्रस्तावमा कडा आपत्ति जनाएको छ ।

बालुवाटारमा आयोजित प्रमुख तीन दलको बैठकमा नयाँ संविधानले व्यवस्था गरेको १६५ बाट बढाएर सांसदको संख्या २४० पुर्याउने कांग्रेसको प्रस्ताव र एमालेले समर्थन गरेको खबर आएपछि आइतबार उपेन्द्र र बाबुरामले संयुक्त विज्ञप्ति जारी गर्दै राज्यको पुनर्संरचनामा प्रवेश गरिसकेर स्थानीय तहको निर्वाचन समेत भइसकेको अवस्थामा फेरि उही पुरानै संसदीय निर्वाचन क्षेत्र कायम राख्ने कुरा हामीलाई मान्य छैन् भनेका छन् ।

‘संघीयताको प्रणालीमा राज्य प्रवेश गरिसकेको वर्तमान अवस्थामा फेरि संघीय व्यवस्थापिका संसदको निर्वाचन पुरानै २४० अनुरुप गर्ने आशयका वार्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै प्रतिकुल प्रभाव पार्नेछ । त्यसैले प्रदेशको चुनाव गरियोस,’ विज्ञप्तिमा भनिएको छ ।

उपेन्द्र र बाबुरामले तत्कालै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरी संसद र प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण कार्य सुरु गर्न माग गरेका छन् । ‘राज्य पुनर्संरचनाको कुनैपनि बहस हुँदा आन्दोलनका उपलब्धिहरुबाट पछि हट्न पाइने छैन् र राष्ट्रिय एकतालाई असर पार्ने कुनै कार्य हामीलाई स्वीकार्य हुनेछैन्,’ विज्ञप्तिमा भनिएको छ ।

  • आइतवार, साउन १, २०७४ मा प्रकाशित