कुनै दिन संयोगले फ्रान्स्वाँ द्रियालाई काठमाडौँ वा नेपालको अन्य कुनै ठाउँमा भेट्नुभयो भने उनले तपाईँलाई अवश्य सोध्नेछन्, “तपाईँको घर कहाँ हो ?” सम्भवतः तपाईँले आफ्नो घर रहेको जिल्ला बताउनुहुनेछ । तर उनको चित्त बुझ्नेछैन, “कुन ठाउँ हो, मलाई ठ्याक्कै बताउनुहोस् त ।”

जब तपाईँले आफ्नो घर रहेको ठाउँ बताउनुहुनेछ, उनले जिल्ला सदरमुकामको नाम जोडेर तपाईँको घर जाने बाटो अनुमान लगाउनेछन् । अनि फ्रान्सेली लवजको नेपालीमा भन्नेछन्, “ओहो, तल, धेरै तल रहेछ ।” (तपाईँले बताउनुभएको ठाउँ अनुसार उनले “माथि” वा अन्य दिशा पनि बताउन सक्लान् ।)

यी ३९ वर्षीय फ्रान्सेली नागरिक विगत १० वर्षदेखि नेपालमै बसिरहेका छन्, “खेती” गरेर । उनी नेपाल घुम्न थालेको २० वर्ष भइसकेको छ । यसबीचमा उनी पूर्वको इलामदेखि पश्चिमको जाजरकोटसम्मका दर्जनौँ जिल्ला पुगेका छन् र धेरै गाउँ चिनेका छन् । “तर, अहँ, पुगेकै छैन,” नेपाल कति घुम्नुभयो त भन्ने प्रश्नको उत्तर दिन उनले शब्दको खुबै कन्जुस्याइँ गरेजस्तो लाग्छ ।

द्रियाले यसबीचमा नेपालको गाउँगाउँका कृषकदेखि केन्द्रका कर्मचारीसम्म धेरै व्यक्तिसँग चिनजान गर्न भ्याएका छन् । त्यसैले त नेपालमा व्यावसायिक कृषिका अवसर र चुनौतीबारे उनलाई राम्रो ज्ञान छ ।

डरलाग्दा समाचारहरू

काठमाडौँको बालुवाटारमा रहेको आफ्नो कार्यालयमा द्रियाले नेपालमा कृषि व्यवसायबारे प्रकाशित भएका लेख तथा समाचारहरू सङ्कलन गरेर राखेका छन् । केही समाचारले उनलाई मख्खै बनाउँछन् भने केही बडो दिक्कलाग्दा छन् ।

“नेपालमा मासुका लागि विगत १० महिनामा २ अर्ब रुपैयाँको पशुपन्छी आयात,” उनी एउटा समाचार शीर्षक पढ्छन्, अनि आफ्नो खल्तीबाट क्याल्कुलेटर निकाल्छन् । “यदि एउटा खसीलाई १० हजार रुपैयाँ पर्छ भने त्यो पैसाले दुई लाख खसी किन्न पुग्छ । यदि एउटा व्यावसायिक किसानले ५० खसी पाल्न सक्छ भने दुई लाख खसीले चार हजार किसानको जिन्दगी बदलिन सक्छ ।”

“तर यो के हो ?” एक पटक फेरि समाचार शीर्षकलाई औँलाले देखाउँदा नेपालमा किसानीमा रमाएका यी विदेशीको अनुहार खुबै रिसाएजस्तो देखिन्छ ।

“के हामी नेपालमा यी पशुपन्छी पाल्न सक्दैनौँ ? हाम्रै देशमा यत्तिका किसान हुँदा पनि यत्रो पैसा विदेश पठाएको देख्दा तपाईँको टाउको किन दुख्दैन ?”

द्रिया आफूलाई मासुको आजीवन सौखिन भन्न रुचाउँछन् र उनले मासु व्यवसायमा नेपालमा धेरै सम्भावना देखेका छन् । “हामीले भारतलाई उच्च गुणस्तरका मासु र दुग्ध पदार्थ निर्यात गर्न सक्यौँ भने त्यसमा कुनै कर नलाग्ने गरी दुई देशबीच सम्झौता समेत भएको छ,” उनी नेपाललाई “हाम्रै” देश भन्न रुचाउँछन्, “भारतले इटली वा अन्य कुनै युरोपेली देशबाट त्यस्ता सामान आयात गर्न चाहृयो भने ४० प्रतिशतजति कर तिर्नुपर्छ । अर्थात्, हामीसँग बजारसम्म सुविधायुक्त पहुँच छ र हामीले यसको सदुपयोग गर्न सक्नुपर्छ ।”

विकासका अनेकौँ सम्भावना

द्रिया नेपालमा चिज उत्पादन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बेच्ने काम गर्छन् । काभ्रे र रामेछाप लगायतका जिल्लाहरूबाट दूध सङ्कलन गरी उनी चिज उत्पादन गर्छन् । काठमाडौँका अधिकांश ठूला होटेल र रेस्टुरेन्ट तथा काठमाडौँमा उडान सञ्चालन गर्ने प्रायः एयरलाइनहरू उनको हिमालयन फ्रान्स चिजका ग्राहक हुन् ।

चिज बनाउने र बेच्ने क्रममा द्रियाले नेपालमा कृषि व्यवसायको बजारमा उल्लेख्य सकारात्मक परिवर्तन आइसकेको महसुस गरेका छन् ।

“आजभन्दा १० वर्ष अगाडि काठमाडौँमा जम्मा दुई थरी चिज मात्र पाइन्थे । डिडिसीले उत्पादन गर्ने चिज सस्तो हुन्थ्यो, तर गुणस्तर कम हुन्थ्यो । उच्च गुणस्तरका चिज विदेश निर्यात गर्न मात्र बनाइन्थ्यो किनभने त्यसको भाउ नेपालीले कल्पना गर्न पनि नसक्ने हुन्थ्यो,” उनको निष्कर्ष छ, “तर आज हामीसँग धेरै विकल्प छन् । हामी फरक फरक स्वाद र रोजाइ अन्तर्राष्ट्रिय बजारमा बेच्न सक्छौँ ।”

“दुबई होस् वा टोकियो, बेइजिङ् वा सिङ्गापुर, हामी जहाँ पनि आफ्नो बजार विस्तार गर्न सक्छौँ,” उनी सुनाउँछन्, “के नेपालले निर्यात गर्न सक्ने भनेको चिया र कफी मात्र हो र ? हामीले अब तरकारी बेच्नुपर्छ किनकि अन्तर्राष्ट्रिय बजारमा अर्गानिक तरकारीको माग निरन्तर बढ्दो छ ।”

“तरकारी खेतीमा प्रयोग हुने रसायनहरू मानव स्वास्थ्यका लागि घातक हुन्छन् भन्ने कुरामा कसैले पनि अब विवाद गर्नेवाला छैन । बढ्दो उमेरका केटाकेटीका लागि यो अझ घातक हुन्छ । बिस्तारै सबै मान्छेहरूले यी कुरा बुझ्दै छन् र अर्गानिक कृषितर्फ आकषिर्त भइरहेका छन् ।”

द्रियाका अनुसार नेपालकै केही किसानले जापान र सिङ्गापुर लगायतका देशसम्म आफूले उत्पादन गरेका अर्गानिक तरकारी बेच्न थालिसकेका छन् ।

वैदेशिक रोजगारीभन्दा पशुपालन उत्तम

धेरै नेपालीले वैदेशिक रोजगारीबाट फर्किएपछि कृषिमा हात हालेका छन् । द्रियालाई उनीहरूले सही गरेजस्तो लाग्छ ।

“आफ्ना अगाडि उपलब्ध सबै सम्भाव्य अवसरहरूलाई उनीहरू सही रूपमा केलाउन नसक्लान् । तर पनि, धेरै जनाले आफूलाई सफल उद्यमी बनाइसकेका छन्,” उनी भन्छन्, “समस्या जे जति भए पनि कतार र मलेसियामा पसिना बगाउनुभन्दा नेपालमै दुध बेच्नु नै राम्रो हो ।”

त्यसैले अन्य नेपाली युवाहरूले पनि यस व्यवसायको सम्भाव्यतालाई बुझेर आफ्नो उर्जा र पैसा देशभित्रै लगानी गरून् भन्ने दि्रयाको सुझाव छ । “महिनाको १० वा २० वा ३० हजार तलब थापेर तपाईँलाई कहिल्यै पुग्दैन । धेरै कमाउने हो भने त आखिर तपाईँले उद्यम गर्नैपर्छ ।”

“अझ अहिले त नेपालको समग्र वातावरण सुधि्रँदै गएको छ । कुलमान घिसिङ् वा लोडसेडिङ् हट्नु मात्र शुभ सङ्केत होइन, विगतका केही वर्षमा हरेक क्षेत्रमा नेपालमा सकारात्मक परिवर्तन आएको छ ।”

प्रशासनिक झमेलाको व्यवधान

तर पनि यी कृषि पर्यटकलाई नेपाली कृषि व्यावसायिक हुन नसक्नुको प्रमुख कारण के हो भनेर सोध्यो भने नहिच्किचाई “सरकार” भनेर भन्छन् ।

“हामीलाई एउटा आँटिलो सरकार चाहिन्छ,” उनको सुझाव छ कि त्यस्तो सरकाले तरकारी, फलफूल लगायतका कृषि उत्पादनको आयात बन्द गर्ने नीति लिनुपर्छ । “पहिला हाम्रै देशभित्र उत्पादन भएका चिजको उत्पादन गर्नुपर्छ ।”

सरकारले कृषि व्यवसायको सञ्चालनका लागि तय गरेका प्रशासनिक प्रक्रियाहरू उनलाई झमेलायुक्त लाग्छन् । अथवा, कर्मचारीले ती प्रक्रियालाई सहजै सम्पादन गर्न सकेका छैनन् भन्ने उनको ठहर छ । “मैले उत्पादन गर्ने चिजमा सफाइका सबै मापदण्ड पूरा भएका छन् भन्ने प्रमाण पत्र लिन म पशु सेवा विभागमा एक वर्ष लगातार धाएँ,” उनी सुनाउँछन् ।

साथैँ, सरकारसँग खाद्य वस्तुको गुणस्तरका विविध पक्ष जाँच गर्ने भरपर्दो प्रयोगशाला पनि नभएको उनको आरोप छ ।

“खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय खाद्य प्रयोगशालामा अन्तर्राष्ट्रिय स्तरको परीक्षणका लागि पर्याप्त उपकरण नै छैनन् । माइक्रोबियल परीक्षण ठिकै छ, तर त्यहाँको बायोकेमिकल परीक्षणको उपकरणले राम्रोसँग काम गर्दैन । म त्यसका लागि भारत जानुपर्छ ।”

नेपालमा कृषिको व्यावसायिकीकरणमा उनले देखेको अर्को समस्या भनेको अन्तर्राष्ट्रिय बजारसम्मको यातायातको असुविधा हो । “सानो परिमाणका सामग्री निर्यात गर्न हवाई मार्ग महँगो पर्ने भए पनि ठुलो परिमाणको निर्यातका लागि जहाजको विकल्प छैन,” उनी भन्छन्, “त्यसैले हामीले नेपालसँग सिधै हवाई सम्पर्क भएका सहर र देशहरूमा बजार विस्तार गर्न प्राथमिकता दिनुर्पछ । त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर ती देशका सरकारहरूसँग कुरा गर्नुपर्छ ।”

‘अहँ, पुगेकै छैन’

समस्या आफ्ना ठाउँमा छन्, तर द्रिया नेपालको कृषि क्षेत्रले आगामी वर्षमा अझ धेरै प्रगति गर्नेमा आशावादी छन् ।

“आगामी पाँच वर्षभित्रै नेपालले कृषिबाट ठूलो लाभ हासिल गर्नेछ । समग्र वातावरणमा सुधार आएको छ । खाने कुराको मागमा परिवर्तन देखिएको छ । यसले गर्दा लगानीकर्ता र उद्यमीका लागि नयाँ अवसरहरू प्राप्त भएका छन् ।”

उनी आफूलाई स्वादको पारखी भन्छन्, अनि खानाको रुचिको विविधतालाई पैसा कमाउने उपायका रूपमा प्रयोग गर्न सल्लाह दिन्छन् ।

“जिब्रोले जब नयाँ स्वाद खोज्छ, सम्झनुहोस् कि यसले कसैलाई पैसा कमाउने बाटो खुलाउँदैछ । मान्छेका स्वाद र रोजाइ विविध छन् ।

त्यसैले, यसले इच्छुक सबैलाई राम्रो अवसर दिन्छ ।” त्यसैले त कति व्यवसायीले आफूले सोचेका व्यापारका नयाँ तरिका आफ्ना प्रतिस्पर्धीसँग खुलाउन नचाहेको भने उनलाई मन पर्दैन, “आखिर सबैलाई पर्याप्त अवसर त ग्राहकको जिब्रोले दिने नै छ ।”

“नेपालमा कृषि तथा कृषि उत्पादनको प्रसोधन व्यवसायका लागि पर्याप्त अवसरहरू छन्,” उनी सुनाउँछन्, “उसै पनि अन्तर्राष्ट्रिय स्तरमा हाम्रो देशको पहिचान राम्रो छ । मानिसहरूले सगरमाथाको देश, बुद्धको देश भनेर चिनेकै छन् । हामीले त्यो पहिचानको फाइदा लिन सक्नुपर्छ ।”

“सगरमाथाको फेदीमा उत्पादित भनेर हाम्रो चिज बेच्न पाए, अथवा बुद्धभूमिको तरकारी भनेर विदेशमा प्रचार गर्न पाए कति मज्जा हुन्थ्यो होला है ?”

“तर, अहँ, पुगेकै छैन,” उनको निष्कर्ष छ, “यहाँ हरेक कुरा गर्न बाँकी नै छ ।”

  • सोमवार, साउन २, २०७४ मा प्रकाशित