एक दशक अगाडिसम्म नेपालमा ‘कफी’ को परिभाषा नै छुट्टै थियो । देशको राजधानी काठमाडौंमा पनि मानिसहरू ‘इन्स्ट्यान्ट कफी’ लाई नै कफी मान्दथे, जसमा दूध हालेर मज्जाले फिट्दै फिज निकालेर पिउन सकियोस् । शहरमा कमै थिए, जसलाई ‘अमेरिकानो’ र ‘क्यापुचिनो’ बीचको फरक थाहा होस् ।

करिब नौ वर्षअघि काठमाडौं विश्वविद्यालयमा व्यवस्थापनमा स्नातकोत्तर गर्दै गरेका कुमुद सिंह र रवीन्द्र श्रेष्ठलाई पनि कफीबारे खासै जानकारी थिएन । झन् यो कसरी उत्पादन हुन्छ भन्ने त थाहा हुने कुरै भएन ।

‘हामी पढाइको अन्तिम वर्षमा छँदा निर्णय गर्‍यौं, नेपालमै बसेर कृषिमै केही गर्नेछौं’, काठमाडौं कफीका व्यापार प्रबन्धक कुमुद बताउँछन् ।

कफी खेतीमा होमिनु अगाडि रवीन्द्र र कुमुदले धेरै विज्ञसँग समय बिताए ।

‘हामीले धेरै सरकारी कृषि कार्यालय चहार्‍यौं, जहाँ जाँदा पनि अफिसहरू प्रायः खाली हुन्थे । घण्टौं बसेर चिया पिउँदै कुराकानी गथ्र्यौं’, कुमुद भन्छन्, ‘हामीले नेपालमा कफीको पायनियर मानिने हिमालयन जाभाका मालिकसँग पनि कुरा गर्‍यौं ।’

कुराकानी र सरसल्लाहको चरणपछि कुमुद र रवीन्द्र दुई वटा निष्कर्षमा पुगेः ‘हो, नेपालमा कफी उत्पादन गर्न सकिन्छ । तर, कुनै पनि कफी व्यवसाय दिगो हुनका लागि त्यसले निर्यात गर्न सक्ने क्षमता राख्नुपर्छ । किनभने नेपालमा कफीको खासै माग छैन ।’

केही महिनाभित्रै कफी उमार्ने र बिक्री गर्ने जोशका साथ उनीहरूले अल्पाइन कफी स्टेट प्रालि नामक कम्पनी दर्ता गराए । उनीहरूका अरू साथीले नुवाकोटमा कृषि व्यवसाय गर्न लागेका थिए । त्यहाँ कफी खेतीको सम्भाव्यता देखिएकाले उनीहरूले त्यतै जग्गा किन्ने निर्णय गरे । तर, जग्गा किन्न बैंकहरू धाउँदा उनीहरूको जोशलाई कसैले पत्याएनन् ।

‘केही नलागेर हामीले व्यक्तिगत रूपमै ओभर ड्राफ्ट ऋण लियौं, त्यो पनि चर्को ब्याजदरमा,’ कुमुद अझै सम्झन्छन् ।

 

धान रोपिने खेत उनीहरूले करिब ४० लाख हालेर किनेका थिए । त्यसपछि उनीहरुले जसोजसो आँट्दै गए, सबै पुग्दै गयो ।

उनीहरुले आफ्नो फार्ममा कफी रोप्न काभ्रेबाट मगाए । काम थाल्नुअघि उनीहरुले धेरै जनासँग सरसल्लाह लिए पनि उनीहरुले यो काम कसरी गर्ने भनेर काम अघि बढाएसँगै थाहा पाए । त्यस क्रममा उनीहरुले बुझे, कफी रोप्नु सोचे जस्तो सजिलो रहेनछ ।

 

‘कफीलाई छाया मन पर्दो रहेछ । हामीले भोगेर मात्रै थाहा पायौं, उत्तरी मोहोडा भएको जमिनमा हिमालबाट आउने चिसोको कारण कफी राम्रो नहुने रहेछ’ रवीन्द्र सुनाउँछन् । कफी खेतीको यस्ता विधि उनीहरुले प्रत्यक्ष भोगाइबाट सिक्दै गए ।

कफी हुर्कन तीन वर्ष लाग्छ । उनीहरुले कफीको पहिलो बोट ०६५ तिर रोपेका थिए । ती बोटबाट ०६८ सालमा कफी टिपे ।

तीन वर्षको त्यो अवधि यो युवा जोडीका लागि सहज थिएन । एकातिर बैंकको ब्याज तिरिरहनुपरेको थियो भने अर्कातिर पहिलो लटको कफी फल्ने समय व्यग्र भएर कुरिरहनुपरेको थियो ।

‘हामीले त्यो समयमा अदुवा उत्पादन गर्ने कोसिस पनि गर्‍यौं, तर सफल भएनौं’, कुमुद भन्छन् ।

जब तीन वर्ष बित्यो, प्रतीक्षाको मीठो फल मिल्यो ।

सुरुका दिनहरूमा कफीको ‘रोष्टिङ’ गर्ने काम उनीहरुले अरु कसैलाई ठेक्कामा दिएका थिए । तर, तीन वर्षअघि मात्रै उनीहरुले यस्तो सफलता पाए, जसबाट व्यवसायमा नयाँ ऊर्जा मिल्यो । नेदरल्याण्ड्सका लगानीकर्ताहरू उनीहरूको ‘काठमान्डू कफी’ देखेर निकै उत्साहित भए र उनीहरूको कम्पनीमा पुँजी हाल्न तयार भए ।

अहिले काठमाडौंको लाजिम्पाटमा कम्पनीको आफ्नै प्रशोधन केन्द्र छ, जहाँ उत्पादित कफीले नेपाली बजारको करिब १०/१५ प्रतिशत माग धान्ने गरेको छ ।

 

‘सुरूमा हामी निर्यात मात्र गर्न चाहन्थ्यौं । तर हाम्रो व्यवसाय विस्तार हुँदै गर्दा नेपालभित्रै कफी कल्चरको विकास हुन थाल्यो’, रवीन्द्र भन्छन् ।

विगत पाँच वर्षमा काठमाडौंवासीले कफी धेरै रुचाएका छन् । यसको साक्षी हुन्, शहरमा थपिँदै गरेका कफी पसलहरू ।

‘कफी बनाउन सजिलो छैन । हामी नेपाली अझै पनि क्याफेको जस्तो कफी घरमा बनाउन जान्दैनौं । त्यसैले त हामी बाहिर क्याफेमा जाँदा चियाभन्दा कफी पिउन रुचाउँछौँ’, कुमुदको भनाई छ ।

रवीन्द्रलाई लाग्छ, काठमान्डू कफीको सबल पक्ष भनेको कफी उमार्ने उनीहरूको आफ्नै जग्गा हुनु हो । आफ्नै जग्गामा कफी फलाउने भएकाले गुणस्तरमा ध्यान दिन सकिन्छ, रोप्ने बेलादेखि टिप्ने बेलासम्म । यसै कारण नेपालका प्रमुख होटलहरूले उनीहरूकै कफी रुचाउँछन् ।

  • बुधबार, असार १४, २०७४ मा प्रकाशित